भक्तपुरमा एक महिनामै १९४ मुद्दा दर्ता, बैंकिङ कसुर र लागूऔषध अपराध चिन्ताजनक

भक्तपुरमा एक महिनामै १९४ मुद्दा दर्ता, बैंकिङ कसुर र लागूऔषध अपराध चिन्ताजनक : Icon Khabar

भक्तपुर, असार ३ । जिल्ला प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको जेठ महिनाको प्रगति विवरण अनुसार जिल्लामा एक महिनामा १९४ वटा मुद्दा दर्ता भएका छन्। अघिल्लो वैशाख महिनामा १३६ मुद्दा दर्ता भएकोमा जेठमा उक्त संख्या उल्लेख्य रूपमा बढेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जेठ महिनामा ११४ जना फरार प्रतिवादी पक्राउ परेका छन्। गम्भीर प्रकृतिका अपराधतर्फ ७ वटा लागूऔषध, ६ वटा जबरजस्ती करणी, २ वटा ज्यान मार्ने उद्योग तथा १ वटा कर्तव्य ज्यान गरी १६ वटा मुद्दा दर्ता भएका छन्।

आर्थिक अपराधतर्फ बैंकिङ कसुरका ८१ र ठगीका १८ गरी कुल ९९ वटा मुद्दा दर्ता भएका छन्, जुन समग्र अपराधमध्ये सबैभन्दा ठूलो हिस्सा रहेको देखिएको छ।

जेठ महिनामा लागूऔषध सम्बन्धी ७ मुद्दामा १४ जना पक्राउ परेका छन्। प्रहरीले ७.७५७ ग्राम खैरो हेरोइन, २ हजार ७० वटा ट्रामाडोल, ३८ हजार ५ सय वटा टापेन्टाडोल, ५ हजार ९ सय एन्टिकफ तथा २ हजार स्पासपेन ट्याब्लेट बरामद गरेको जनाएको छ।

आत्महत्यासम्बन्धी घटनामा १४ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ। तीमध्ये ८ जनाले पासो लगाएर र ६ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन्। मृतकमध्ये ७ पुरुष र ७ महिला रहेका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधतर्फ १५ वटा मुद्दा दर्ता भएका छन्। जसमा ६ वटा जबरजस्ती करणी, १ वटा बाल यौन दुरुपयोग, १ वटा कर्तव्य ज्यान, १ वटा बहुविवाह, १ वटा साइबर अपराध तथा अन्य मुद्दा रहेका छन्।

सवारी दुर्घटनातर्फ जेठ महिनामा ९९ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा ४ जनाको मृत्यु, १४० जना घाइते तथा ५९ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको मुख्य कारण लापरवाहीपूर्वक सवारी चलाउनु, मादक पदार्थ सेवन र चालकको सडकमा ध्यान नपुग्नु रहेको विवरणमा उल्लेख छ।

यस्तै ट्राफिक चेकजाँचका क्रममा ४ हजार ६९८ वटा सवारीमाथि कारबाही गरी २९ लाख २० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।

प्रहरीले जेठ महिनाभर १४४ वटा समुदाय तथा विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। ती कार्यक्रममार्फत ७ हजार ८२४ जना प्रत्यक्ष लाभान्वित भएका छन् भने २४ वटा विद्यालयमा १ हजार ६४७ विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार अपराध नियन्त्रण, लागूऔषध दुव्र्यसन न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाइनेछ।

Published Date: 17 June 2026






ताजा
भक्तपुरमा एक महिनामै १९४ मुद्दा दर्ता, बैंकिङ कसुर र लागूऔषध अपराध चिन्ताजनक
असार तेस्रो हप्तादेखि सुकुम्बासीहरूलाई लालपुर्जा वितरण कार्य शुरु गरिने
बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर, १३१ कम्पनीका सेयरमूल्यमा गिरावट
लियोनेल मेसीः विश्वकपका कीर्तिमानहरुमा हक जमाउँदै र थप पछ्याउँदै


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न