काठमाडौं, असार १ । साबिक विजेता अर्जेन्टिनाले बुधबारबाट अल्जेरियासँग खेल्दै आफ्नो उपाधि रक्षा अभियान सुरु गर्दैछ । मिसौरी राज्यस्थित कन्सास रंगशालमा हुने समूह ‘जे’को यो खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे हुनेछ ।
अर्जेन्टिना इटाली र ब्राजिलपछि लगातार विश्वकप जित्ने तेस्रो राष्ट्र बन्ने लक्ष्यमा छ । उता अल्जेरियाको लक्ष्य भनेको आफ्नो इतिहासमै दोस्रोपटक नकआउट चरणमा पुग्ने हुनेछ ।
अमेरिका विश्वकप अर्जेन्टिनाका लागि लगातार १४औं अनुभव हो । लियानेल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा रहँदै उत्तर अमेरिकाको टिकट काटेको थियो । यो यात्रामा अर्जेन्टिनाले चिरप्रतिद्धन्द्धी ब्राजिललाई ४–१ ले हरायो ।
अर्जेन्टिनाले १८ खेलमा कूल ३८ अंक जोडेको थियो । कप्तान लियोनल मेसी आठ गोलसहित उच्च गोलकर्ता बने ।
छनोट प्रतियोगितापछि अर्जेन्टिनाले सात अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो । सबै खेल आफ्नो पक्षमा पारेको अर्जेन्टिनाले कूल २१ गोल गर्दा मात्र एक गोल खायो ।
अफ्रिकन राष्ट्रविरुद्ध अर्जेन्टिनाले पछिल्ला ६ खेलमा विजयी हासिल गरेका छ । तर, यसो भनिरहँदा गत संस्करण पहिलो खेमला एसियाली राष्ट्र साउदी अरेबियासँगको त्यो अप्रत्याशित हार अर्जेन्टिनाले बिर्सेको छैन । त्यसैले अल्जेरियालाई हल्का रुपमा लिन अर्जेन्टिनालाई छुट छैन ।
अल्जेरिया र अर्जेन्टिना अहिलेसम्म एकैपटक आमने–सामने भएका छन् । सन् २००७ मा यी दुईबीच मैत्रीपूर्ण खेल भएको थियो । जसमा नतिजा ४–३ ले अर्जेन्टिनाको पक्षमा गएको थियो । खेलमा मेसीले दुई गोल गरेका थिए ।
फिफा वरीयतामा २८औं स्थानमा रहेको अल्जेरिया आफ्नो पाँचौं विश्वकप अनुभव लिइरहेको छ । २०१४ ब्राजिल विश्वकपमा एकैपटक नकआउट चरण प्रवेश गरेको अल्जेरिया त्यसपछिका दुई संस्करण छनोट हुन सकेन ।
यसपाली अल्जेरियाको छनोट यात्रा एकदमै सम्झनलायक रह्यो । टोलीे आफ्नो समूहको शीर्ष स्थानमा रह्यो । टोली सबैभन्दा धेरै गोल गर्ने टोलीमध्ये एक थियो । स्ट्राइकर मोहम्मद अमौरा १० गोलसहित प्रतियोगिताकै उच्च गोलकर्ता बने ।
भ्लादिमिर पेट्कोभिकको नेतृत्वमा रहेको अल्जेरिया राम्रो लयमा पनि छ । विश्वकपअघि भएका चारमध्ये तीन मैत्रीपूर्ण खेलमा अल्जेरियाले विजयी हासिल गर्यो । यसबीच युरोपियन राष्ट्र नेदरल्यान्ड्सले पनि अल्जेरियासँग हार बेहोर्यो ।
अर्जेन्टिनाका कप्तान लियोनल मेसी अल्जेरियाविरुद्ध आफ्नो २००औं अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । उनका लागि अल्जेरियाविरुद्धको खेल २७औं विश्वकप खेल हुनेछ । ह्यामस्ट्रिङ इन्जुरीबाट रिकभर गरिरहेका मेसीले अल्जेरियाविरुद्ध प्लेइङ मिनेट्स पाए मेसी विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी बन्नेछन् ।
गोलकिपर इमिलियानो मार्टिनेज औंलाको समस्याबाट मुक्त भएका छन् । त्यस्तै मिडफिल्डर लियान्ड्रो पेरेडेज र विंगर निकोलस गान्जालेज पनि उपलब्ध हुने विश्वास गरिएको छ ।
यद्यपि लेफ्ट ब्याक निकोलस ताग्लियाफिको घाइते छन् । उनलाई फाकुन्डो मेडिना र भ्यालेन्टिन बार्कोमध्ये एकजनाले प्रतिस्थापन गर्ने देखिएको छ ।
अल्जेरियाका लागि रक्षक र्यामी बेन्सेबैनीले घुँडाको चोटका कारण खेल गुमाउने सम्भावना बढी छ । उनी बेन्चमा बस्ने हो भने समीर चेरगुई र जिनेद्दिन बेलाइदमध्य एकले उनको ठाउँ लिनेछन् ।
भेट्रान खेलाडी तथा कप्तान रियाद माहरेज र अमौरा अल्जेरियाका लागि ‘प्लेयर्स टु वाच’ हुन् ।
समूह ‘जे’को दोस्रो खेलमा बुधबारनै अस्ट्रियाले जोर्डनसँग खेल्नेछ । यो खेल बिहान ९ः४५ बजे हुनेछ ।
Published Date: 15 June 2026