नेपाल पत्रकार महासंघ भक्तपुरको २४औं साधारण सभा सम्पन्न

नेपाल पत्रकार महासंघ भक्तपुरको २४औं साधारण सभा सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ ३१ । नेपाल पत्रकार महासंघ, भक्तपुरको २४औं साधारण सभा शनिबार सम्पन्न भएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा दाहालले वर्तमान सरकार सञ्चार क्षेत्रका गम्भीर सवालप्रति उदासीन बनेको बताउँदै सरकारकै कारण पत्रकार र मिडियामा संकट आइपरेको आरोप लगाए। उनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोकिँदा देशभरका सञ्चार संस्थाहरू आर्थिक दबाबमा परेको र त्यसको प्रत्यक्ष असर श्रमजीवी पत्रकारको रोजगारीमाथि परेको बताए। पत्रकार महासंघ आन्दोलनरत रहे पनि सरकारले संवाद र समाधानको बाटो रोज्न नखोजेको उनको भनाइ थियो।

साधारणसभाको सभापतित्व ग्रहण नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले गरेका थिए। उनले परम्परागत छापा पत्रकारिताबाट डिजिटल पत्रकारितातर्फ रूपान्तरणलाई प्राथमिकतामा राखेर पत्रकारहरूका लागि तालिम, अभिमुखीकरण तथा सीप विकासका कार्यक्रमहरू आयोजना गरिएको स्पष्ट पारे।

साधारण सभामा महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदी, उपत्यकाको कार्यवाहक अध्यक्ष रोजिना थापा, कोषाध्यक्ष संजीप घिमिरे, काठमाडौ अध्यक्ष शोभा अर्याल, ललितपुर अध्यक्ष रामहरि कार्की र विभिन्न पेशागत संघसंघसंगठनका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

Published Date: 14 June 2026