फिफा विश्वकप २०२६: मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को प्रभावशाली जित

फिफा विश्वकप २०२६: मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को प्रभावशाली जित : Icon Khabar

काठमाडौँ, जेठ २९ । घरेलु टोली मेक्सिकोले फिफा विश्वकप फुटबल २०२६ मा विजयी सुरुआत गर्दै दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको छ।

मेक्सिको सिटीस्थित खचाखच भरिएको रङ्गशालामा सम्पन्न उद्घाटन खेलमा घरेलु समर्थकको उत्साहपूर्ण साथ पाएको मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे।

खेलको नवौँ मिनेटमै इरिक लिराको उत्कृष्ट पासमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफभर दक्षिण अफ्रिकाले बराबरी गोलको प्रयास गरे पनि सफल हुन सकेन।

दोस्रो हाफको सुरुवातमै दक्षिण अफ्रिका थप दबाबमा पर्यो। ४९औँ मिनेटमा सेफेलो सिथोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। संख्यात्मक लाभ उठाएको मेक्सिकोले ६७औँ मिनेटमा राउल जिमेनेजमार्फत अर्को गोल थप्दै अग्रता दोब्बर बनायो।

खेलको अन्त्यतिर तनावपूर्ण बनेको प्रतिस्पर्धामा ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा झर्यो। अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले समेत रातो कार्ड सामना गरे।

तीन रातो कार्ड देखाइएको यो खेल विश्वकप इतिहासकै उद्घाटन खेलहरूमध्ये सबैभन्दा विवादास्पद र रोमाञ्चक खेलमध्ये एक बनेको छ। जितसँगै मेक्सिकोले समूह ‘ए’ मा महत्वपूर्ण ३ अंक जोड्दै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ।

यसै समूहअन्तर्गतको अर्को खेलमा आज बिहान ७:४५ बजे चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ।

Published Date: 12 June 2026