भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा

भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा : Icon Khabar

भक्तपुर, जेठ २५ । भक्तपुर सदियौँदेखि संस्कृति, जात्रा, पर्व र परम्पराको सहरका रूपमा परिचित रहँदै आएको छ । प्रत्येक वर्ष भक्तपुर नगरपालिकाले गर्दै आएको विद्यालयस्तरीय र अन्तर नगरपालिका तथा विभिन्न क्लब र संस्थाद्वारा आयोजित खेलकुद प्रतियोगिताहरूले भक्तपुरलाई खेलकुदमय सहरका रूपमा पनि स्थापित गर्दै लगेका छन् । यही क्रममा भक्तपुर युवा टीमको आयोजनामा २०८३ जेठ ६ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको भक्तपुर नगरपालिका अन्तर वडा फुटसल प्रतियोगिता २०८३ ले भक्तपुरको खेलकुद इतिहासमा नयाँ अध्याय थपेको छ ।

दश दिनसम्म सञ्चालन भएको यस प्रतियोगिताले खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई समुदायलाई जोड्ने, युवालाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने र सामाजिक एकता सुदृढ बनाउने माध्यम पनि हो भन्ने सन्देश दिएको छ । नगरका प्रत्येक वडाबाट एकएक टोलीको सहभागितामा लिग कम नकआउट प्रणालीमा सम्पन्न प्रतियोगिताले खेलाडी, दर्शक, आयोजक र स्थानीय समुदायबीच अभूतपूर्व उत्साह सिर्जना गर्यो ।

तस्वीरः जुना क्रियसन

फुटसलको बढ्दो लोकप्रियता
सन् १९३० मा उरूग्वेको मोन्टेभिडियोबाट सुरू भएको फुटसल खेल खुल्ला मैदानको अभाव र खराब मौसमका कारण फुटबल खेल्न समस्या भएपछि युवाहरूलाई बास्केटबल कोर्टमा खेल्न मिल्ने गरी शारीरिक शिक्षा शिक्षक जुआन कार्लोस सेरियानीले यसको नियम बनाएका थिए । यद्यपी नेपालमा फुटसलको लोकप्रियता तीव्र रूपमा बढिरहेको सन्दर्भमा भक्तपुरमा आयोजित यस प्रतियोगिताले फुटसलको भविष्यप्रति अझ आशावादी बनाएको छ । सामान्यतया इन्डोर खेलका रूपमा चिनिने फुटसललाई आयोजकले सहिद स्मृति खेलमैदानमा लाइटको व्यवस्थासहित साँझको समयमा सञ्चालन गर्नु आफैमा प्रशंसनीय प्रयास थियो । खुला मैदानमा आधुनिक शैलीमा प्रतियोगिता सञ्चालन गर्दा खेलाडी र दर्शक दुवैले नयाँ अनुभव प्राप्त गरे ।

मौसमले बारम्बार चुनौती दिए पनि खेलाडी, निर्णायक तथा आयोजकहरूले कुनै सम्झौता नगरी प्रतियोगितालाई निरन्तरता दिए । वर्षाकाबीच छाता ओढेर प्याराफिटमा बसेका दर्शकहरूको उत्साहले खेलप्रतिको माया र समर्पण स्पष्ट देखाएको थियो ।

दर्शकको अभूतपूर्व सहभागिता
प्रतियोगिताभर करिब पचास हजार दर्शकले प्रत्यक्ष रूपमा खेल अवलोकन गरेको अनुमान गर्न सकिन्छ । दश दिनसम्म लगातार दर्शकहरूको उपस्थिति, खेलप्रतिको चासो र सहभागिताले प्रतियोगितालाई नगरकै प्रमुख आकर्षण बनायो ।

आजको डिजिटल युगमा अधिकांश युवा तथा सर्वसाधारण मोबाइल र सामाजिक सञ्जालमा सिमित भइरहेका बेला भक्तपुर युवा टीमले हजारौँ मानिसलाई मैदानसम्म ल्याउन सफल भएको छ । यस अर्थमा प्रतियोगिता खेलकुद कार्यक्रम मात्र नभई सामाजिक पुनर्मिलनको अवसरसमेत बनेको देखिन्छ ।

प्याराफिट भरिएपछि खेल हेर्न नपाएका दर्शकका लागि आयोजकको फेसबुक पेज, जनसञ्चार टेलिभिजन, भादगाउँ टेलिभिजन, भक्तपुररियन्सको फेसबुक पेज तथा विभिन्न सामाजिक सञ्जाल प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । यसले प्रतियोगिताको पहुँच अझ व्यापक बनायो ।

खेलाडीको मनोबल बढाउने वातावरण
प्रतियोगिताका दौरान प्रत्येक दिन विभिन्न वडाका वडा अध्यक्षहरू स्वयम् उपस्थित भई खेल अवलोकन गर्नुले खेलाडीहरूको मनोबल उच्च बनाएको देखिन्थ्यो । वडा कार्यालयहरूले आफ्नो वडाबाट टोली सहभागिता गराउनु मात्र होइन, अन्य युवालाई पनि खेलकुदप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेले ।

प्रत्येक खेलपछि उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार र मायाको चिनो प्रदान गर्ने व्यवस्थाले खेलाडीहरूलाई थप प्रेरणा प्रदान गर्यो । प्रतियोगितामा बालक, युवा, वयस्क, ज्येष्ठ नागरिक तथा महिलाहरूको समान उत्साहजनक सहभागिता देखिनु यसको अर्को सकारात्मक पक्ष रह्यो ।

तस्वीरः जुना क्रियसन

सामाजिक सञ्जालमा सकारात्मक चर्चा
प्रतियोगिताले सामाजिक सञ्जालमा पनि व्यापक चर्चा पायो । सामाजिक सञ्जाल ‘भक्तपुरियन्स’ मा रूसेल शिल्पकारले लेखेका शब्दहरूले प्रतियोगिताको वास्तविक प्रभाव झल्काउँछन् । उनकाअनुसार सहिद स्मृति खेलमैदानमा देखिएको दर्शकहरूको उत्साह र भीडले यो केवल खेलकुद प्रतियोगिता नभई भक्तपुरमा थपिएको नयाँ उत्सवजस्तै अनुभूति दिलाएको थियो ।

उनले मैदानमा देखिएको सामूहिक रमाइलोपन, हाँसो, मनोरञ्जन, नेवारी बाजा र उत्सवमय वातावरणलाई भक्तपुरको मौलिक सांस्कृतिक परम्परासँग तुलना गरेका छन् । वास्तवमै, प्रतियोगिताले खेलकुदलाई उत्सवको स्वरूप दिन सफल भएको देखिन्छ ।

उत्कृष्ट फोटोग्राफी र साउण्ड सिष्टम
प्रतियोगिता अवधिभरको साउण्ड सिष्टम राम्रो रह्यो । कुनै अवरोध विना दशै दिन चलेको साउण्ड सिष्टम र प्रत्येक खेलमा कार्यक्रम सञ्चालकहरूले खेल र खेलको अवस्थाबारे दिइरहेको जानकारीले दर्शकहरू खेलबारे अनभिज्ञ हुन परेनन् । त्यसभन्दा पनि अझ उत्कृष्ट त प्रतियोगिता अवधिभर फोटो खिच्ने फोटोग्राफरहरूको फोटो रह्यो । प्रत्येक दिनको फोटो फोटोग्राफरहरूको आफ्नै फेसबुक पेज र आयोजकको फेसबुक पेजमा देख्न पाउँदा प्रतियोगिताको प्रचारप्रसार अझ बढी भएको देखिन्छ । दर्शकहरूले सामाजिक सञ्जालमा खेल हेरिराखेको आफ्नो फोटो देख्न पाउँदा खेल हेर्न अझ हौसिएको देखिन्छ ।

स्वयमसेवकको उत्तिकै सक्रियता
प्रतियोगिता अवधिभर स्वयम्सेवकको उत्तिकै सक्रियता देख्न सकिन्छ । आयोजकले खेलमैदानका साथै मैदान बाहिर र दर्शकहरू बस्ने प्याराफिटमा स्वयमसेवक, ठाउँठाउँमा सीसी क्यामेरा जडानले आयोजक सजग देखिन्छ भने भक्तपुर नगरपालिकाका नगर प्रहरी र महानगरीय प्रहरी परीसर भक्तपुरबाट सुरक्षाकर्मी खटाएर दर्शकहरूको सुरक्षाका साथै व्यवस्थापन गरेको देखिन्छ । खेल सक्नेवित्तिकै अर्को खेलको लागि खेलमैदान पुनः व्यवस्थापन गर्न स्वयम्सेवक मात्र होइन आयोजक टीमका पदाधिकारीहरू नै खटिएको देख्दा आयोजक खेलको विकासप्रति उत्तिकै अग्रगर देखिन्छ ।

अन्तर्राष्ट्रिय स्तरको अनुभूति
मैदानको जालीमा प्रायोजक तथा सहयोगी संस्थाहरूका विज्ञापन, व्यवस्थित सञ्चालन, उद्घोषण, प्रकाश व्यवस्था तथा प्रतियोगिताको समग्र व्यवस्थापनले दर्शकहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हेरेको अनुभूति गरायो ।

प्रत्येक दिनको फिफा गान तथा नेपालको राष्ट्रिय गान बजाएर खेलाडी र दर्शकमा राष्ट्रप्रतिको सम्मान अभिवृद्धि गरिनु अर्को सकारात्मक पक्ष रह्यो । आयोजक भक्तपुर युवा टीमको इतिहास समेटिएको गीतले पनि दर्शकलाई टीमको योगदानबारे जानकारी गराएको थियो ।

त्यसैगरी प्रत्येक खेलको नतिजा अनुमान गर्ने प्रतियोगिता सञ्चालन गरी आकर्षक पुरस्कारको व्यवस्था गरिनुले दर्शक र खेलप्रेमीहरूलाई प्रतियोगितासँग थप जोडेर राख्न सफल भएको देखिन्छ ।

तस्वीरः जुना क्रियसन

खेलस्तर र व्यवस्थापनको प्रशंसा
प्रतियोगिताका प्रमुख अफिसियल तथा एएफसी रेफ्री इन्स्ट्रक्टर सुरज सायमी मानन्धरका अनुसार भक्तपुरका खेलाडीहरूले अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । अनुकूल वातावरण, दर्शकहरूको निरन्तर साथ तथा व्यवस्थित प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्न मद्दत गरेको उनको भनाइ छ ।

प्रतियोगिताभर भएका २३ वटै खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक रहे । विशेषगरी सेमिफाइनलका खेलहरूलाई धेरैले फाइनल सरहको प्रतिस्पर्धा भएको टिप्पणी गरेका थिए ।

तीन दशक लामो इतिहास बोकेको टीम
भक्तपुर युवा टीम कुनै नयाँ संस्था होइन । तीन दशकभन्दा लामो इतिहास बोकेको यस टीमले विगतमा तीन पटक खुला भक्तपुर कप फुटबल प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि सञ्चालन गर्दै आएको छ । संस्थाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र निर्णायक उत्पादन भएका छन् ।
यस पटकको फुटसल प्रतियोगिताले पनि टीम र टीमका पदाधिकारीहरूको क्षमता, व्यवस्थापन कौशल र खेलकुदप्रतिको प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ ।

भविष्यतर्फको सन्देश
प्रतियोगिताको समापन समारोहमा व्यक्त विचारहरू पनि अर्थपूर्ण थिए । प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीले खेलकुदले राष्ट्रको सार्वभौमिकता, पर्यटन प्रवद्र्धन तथा सामाजिक एकतामा महत्वपूर्ण योगदान पु‍र्याउने विश्वास व्यक्त गर्नुभयो । अनुशासन, मित्रता र स्वस्थ जीवनशैलीको विकासमा खेलकुदको भूमिका अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

भक्तपुर युवा टीमको मूल नारा ‘मित्रता, अनुशासन र स्वास्थ्यका लागि खेल’ यस प्रतियोगितामार्फत व्यवहारमै कार्यान्वयन भएको अनुभूति गर्न सकिन्छ ।

निष्कर्ष
भक्तपुर नगरपालिका अन्तर वडा फुटसल प्रतियोगिता २०८३ केवल एउटा खेल प्रतियोगिता मात्र थिएन । यसले भक्तपुरमा खेलकुदप्रतिको आकर्षण, सामाजिक एकता, युवाको सहभागिता र सामुदायिक उत्साहलाई नयाँ उचाइमा पु‍र्याएको छ । हजारौँ दर्शक, सयौँ खेलाडी, समर्पित आयोजक र उत्साहित समुदायको संयुक्त प्रयासले यो प्रतियोगिता सफल मात्र होइन, स्मरणीय बनेको छ । प्रतियोगिताको सफलताले भक्तपुर युवा टीमलाई सबैले सम्झिरहने छ ।

आगामी वर्षहरूमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिँदै अझ व्यवस्थित र व्यापक बनाइयो भने भक्तपुर खेलकुद पर्यटन तथा प्रतिभा उत्पादनको केन्द्रका रूपमा स्थापित हुन सक्ने सम्भावना प्रबल छ । यही अपेक्षासहित भक्तपुर युवा टीमलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना ।

Published Date: 09 June 2026
ताजा
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर
भोलि हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ का लागि जर्सी वितरण सुरु, ५०० भन्दा बढी सहभागी दर्ता
फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा: उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना भिड्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय