नेवारी परिकार बनाउने १० दिने तालिम सम्पन्न, मौलिक खानाको व्यवसायीकरणमा जोड

नेवारी परिकार बनाउने १० दिने तालिम सम्पन्न, मौलिक खानाको व्यवसायीकरणमा जोड : Icon Khabar

भक्तपुर, जेठ  ७ । उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आर्थिक वर्ष २०८२/०८३ को विनियोजित बजेट अन्तर्गत सञ्चालन गरिएको १० दिने नेवारी परिकार बनाउने तालिम सम्पन्न भएको छ। उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना तथा भक्तपुर घरेलु तथा साना उद्योग संघको समन्वयमा तालिम सञ्चालन गरिएको हो।

तालिमको समापन समारोह उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्माको प्रमुख आतिथ्यता तथा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।

समारोहलाई सम्बोधन गर्दै कार्यालय प्रमुख रामप्रसाद कुस्माले आधुनिक तथा आयातित खाना र खाजाका कारण नेपाली मौलिक तथा स्वास्थ्यवर्द्धक परिकारहरू क्रमशः लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे। नेवारी परिकार नेपाली समुदायसँगै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूमाझ पनि लोकप्रिय रहेकाले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

उनले तालिम केवल सीपमूलक कार्यक्रममा सीमित नभई सहभागीहरूलाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको उल्लेख गर्दै नयाँ व्यवसाय दर्ता गर्न आवश्यक सहजीकरण कार्यालयले गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य विरेन्द्र जतिले तालिमबाट प्राप्त सीपलाई आर्थिक उपार्जनसँग जोड्न सके व्यक्ति, समाज तथा समग्र देशकै कुल गार्हस्थ्य उत्पादन (GDP) मा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे।

त्यसैगरी, संघका निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले रैथाने नेवारी परिकारलाई समयानुकूल आधुनिक स्वाद र शैलीसँग संयोजन गर्दै ‘फ्युजन’ परिकारका रूपमा विकास गरी ग्राहकसमक्ष प्रस्तुत गर्नुपर्ने सुझाव दिए। उनले संघ उद्यमी तथा व्यवसायीहरूको हकहित र प्रवर्द्धनका लागि निरन्तर क्रियाशील रहेको पनि स्पष्ट पारे।

तालिमका मुख्य प्रशिक्षक सुनिल सुवालले नेवारी परिकारको स्वादसँगै यसको गुणस्तर कसरी कायम राख्न सकिन्छ भन्ने विषयमा प्राविधिक जानकारी दिए।

कार्यक्रममा महिला उद्यमी समितिकी सभापति कमलश्वरी खर्बुजा तथा संघकी सह–सचिव सुमित्रा श्रेष्ठले महिला उद्यमशीलताको विकास तथा प्रवर्द्धनमा संघले पुर्‍याउँदै आएको योगदान र आगामी योजनाबारे चर्चा गरे।

स्थानीय मौलिक संस्कृति संरक्षण गर्दै रोजगारी तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा २५ जना स्थानीय महिला तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

Published Date: 21 May 2026


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली