सुदूरपश्चिम र कर्णालीमा भारी वर्षाको सम्भावना, देशभर मौसम बदली

सुदूरपश्चिम र कर्णालीमा भारी वर्षाको सम्भावना, देशभर मौसम बदली : Icon Khabar

काठमाडौँ, वैशाख २१ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज मुलुकभर साधारणतया मौसम बदली रहनेछ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना देखिएको छ।

यसका साथै तराईका एक-दुई स्थानमा पनि वर्षाको योग रहेको र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।

आज राति पनि देशभरको मौसम साधारणतया बादलले ढाकिने र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। विभागका अनुसार बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने देखिएको छ।

विशेषगरी रातिको समयमा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

Published Date: 04 May 2026