आज किरात राई समुदायको महान् पर्व ‘उभौली’ देशभर धुमधामका साथ मनाइँदै

आज किरात राई समुदायको महान् पर्व ‘उभौली’ देशभर धुमधामका साथ मनाइँदै : Icon Khabar

काठमाडौँ, वैशाख १८ । प्रकृति र पितृको पूजा गर्ने किरात राई समुदायको महान् सांस्कृतिक पर्व ‘उभौली’ आज देशभर उत्साह र उमङ्गका साथ मनाइँदैछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई नयाँ खेतीपातीको सुरुवात तथा प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा लिने गरिन्छ।

किराती परम्परा अनुसार जाडो सकिएर गर्मी सुरु भएसँगै चराचुरुङ्गी र माछा लेकतिर (उँभो) लाग्ने समय भएकाले यस पर्वलाई ‘उभौली’ भनिएको हो। यसले मानिस, पशुपक्षी र जीवजन्तु बेँसीबाट लेकतिर उकालो लाग्ने समयको संकेत पनि गर्छ। ‘उँभो’ शब्दले उन्नति, प्रगति र समृद्ध खेतीपातीको कामनालाई समेत जनाउँछ।

आजका दिन किरात राई समुदायका मानिसहरू गाउँगाउँका भूमेस्थान वा साकेला थानमा भेला भई पूजा–आराधना गर्छन्। बालीनाली लगाउनुअघि प्रकृति मातासँग राम्रो उब्जनी होस् र अन्नबालीलाई रोग–किराबाट जोगाइदिन प्रार्थना गरिन्छ।

यस पर्वको मुख्य आकर्षण साकेला (चण्डी) नाच हो। परम्परागत पोशाकमा सजिएका युवायुवतीदेखि वृद्धवृद्धासम्म ढोल र झ्याम्टाको तालमा गोलबद्ध भएर ‘सिली’ नाच प्रस्तुत गर्छन्। नाचका क्रममा हातगोडाको हाउभाउमार्फत खेतीपाती, चराचुरुङ्गीको चालचलन तथा दैनिक जीवनका गतिविधिहरू झल्काइन्छ।

काठमाडौं उपत्यकाका टुँडिखेल, हात्तीवनलगायत स्थानहरूमा पनि किरात राई समुदाय भेला भई साकेला नाच्ने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रम आयोजना गरिएको छ।

वैशाख शुक्ल पूर्णिमामा मनाइने भएकाले यस पर्वलाई ‘चण्डी पूर्णिमा’ पनि भनिन्छ। किरात समुदायभित्रका विभिन्न समूहमा साकेला नाच्ने शैलीमा केही भिन्नता भए पनि यसको मूल उद्देश्य प्रकृति र पितृको सम्मान गर्नु नै हो।

उभौली पर्वले मानव र प्रकृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्नुका साथै नेपाली मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

Published Date: 01 May 2026






ताजा
समूह जेः अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष,
२४ वर्षअघिको तीतो सम्झना ताजैः सेनेगलसँग खेल्दै फ्रान्स
‘खुट्टा भाँच्ने’ भौतिक पूर्वाधार मन्त्रीको अभिव्यक्तिमा ज्ञानेन्द्र शाही बोले : आशय कारबाहीको, हिंसाको होइन
फिफा विश्वकप १९९४ र २०२६ का फरकः अझ ठूलो, अझ महँगो र अझ विश्वव्यापी


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न