आजदेखि एसइई परीक्षा, पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

आजदेखि एसइई परीक्षा, पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै : Icon Khabar

काठमाडौं, चैत १९ । आजदेखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाइने भएको छ। परीक्षा व्यवस्थापनलाई सुदृढ बनाउन तथा उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो गरी नतिजा शीघ्र प्रकाशन गर्ने उद्देश्यले नयाँ निर्देशिका लागू गरिएको छ। यसबाट परीक्षामा हुने सम्भावित अनियमितता न्यून हुने अपेक्षा गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतझैँ देशभर एकै समयमा परीक्षा सञ्चालन गरेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका सबै परीक्षा केन्द्रमा बिहान ८:०० बजेदेखि परीक्षा सुरु भएको छ।

यस वर्ष चैत २९ गतेसम्म सञ्चालन हुने एसइई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका छन्। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन्। परीक्षार्थीमध्ये छात्राको संख्या छात्रभन्दा बढी रहेको छ। परीक्षामा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य सात जना सहभागी छन्। साथै, जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिइरहेका छन्।

परीक्षाका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र तोकिएका छन् भने माध्यमिक तह अध्यापन हुने ११ हजार ३७९ विद्यालयका विद्यार्थी सहभागी भएका छन्। प्रश्नपत्रहरू सम्बन्धित केन्द्रमा सुरक्षित रूपमा पठाइसकिएको छ।

सुरक्षाका लागि प्रत्येक परीक्षा केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, प्रत्येक २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० जना बराबर एक कार्यालय सहयोगी तथा थप दुई कर्मचारी खटाइएको छ।

यस वर्षको प्रमुख विशेषता भनेको परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण सक्ने लक्ष्य राखिएको हो। परीक्षणपछि ‘मार्कस्लिप प्रिन्ट’ गरी ट्याबमा अभिलेख राखी सिलबन्दी खाममार्फत तीन दिनभित्र शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

उत्तरपुस्तिका व्यवस्थापनमा पनि कडाइ गरिएको छ। परीक्षा केन्द्रले तोकिएको ढाँचामा लगत तयार गरी उत्तरपुस्तिका सुरक्षित राख्नेछ र त्यसपछि सिलबन्दी खाममा विषय तथा केन्द्र उल्लेख गरी परीक्षा नियन्त्रण कार्यालयमा पठाइनेछ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२ अनुसार परीक्षा समाप्त हुनासाथ परीक्षकहरू परीक्षण केन्द्रमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ। परीक्षक तथा संपरीक्षकलाई सम्बन्धित विद्यालयभन्दा बाहिरबाट खटाइनेछ। साथै, परीक्षण केन्द्रमै बसेर सिसिटिभी जडित सुरक्षित कक्षमा उत्तरपुस्तिका परीक्षण गर्नुपर्नेछ।

निर्देशिकाले उत्तरपुस्तिका बाहिर लैजान नपाइने, अयोग्य व्यक्तिबाट परीक्षण गराउन नहुने तथा परीक्षकले मोबाइल वा अन्य विद्युतीय उपकरण प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ। लापरवाही भएमा पुनः परीक्षण गराउने, पारिश्रमिक कट्टा गर्ने वा परीक्षकको सूचीबाट हटाउनेजस्ता कारबाही गरिने उल्लेख गरिएको छ।

यस वर्षदेखि सामूहिक अनुगमनमा पनि रोक लगाइएको छ। विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरू अनुगमनका नाममा परीक्षा हलमा प्रवेश गर्दा परीक्षार्थीको लेखन कार्यमा अवरोध भएको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो। अब प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरी अनुगमन गरिनेछ।

परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ। यसैगरी चैत २० गते अनिवार्य नेपाली, २२ गते गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्ड, २६ गते ऐच्छिक द्वितीय खण्ड तथा चैत २७ देखि २९ गतेसम्म प्राविधिक धारका विषयहरूको परीक्षा सञ्चालन हुने तालिका रहेको छ।

Published Date: 02 April 2026