२०७९ फागुन ९ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालको भ्रमणमा रहनुभएका जर्मन—दक्षिण एसियाली संसदीय समूहका सदस्यहरुलाई आज भक्तपुर नगरपालिकामा स्वागत गरेका छन् । भक्तपुर दरबार क्षेत्रको अवलोकनमा आएका उक्त प्रतिनिधिमण्डललाई नगर प्रमुख प्रजापतिले भक्तपुर नपामा भादगाउँले टोपी लगाइदिएर स्वागत गरेका हुन् ।
सो अवसरमा प्रमुख प्रजापतिले नेपालको लागि जर्मन सरकारले विगतमा पुर्याएको सहयोगको लागि धन्यवाद दिदै दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।भक्तपुरमा जर्मन प्रोजेक्टले भक्तपुरको सम्पदा संरक्षण र सरसफाइमा सुधार गर्न सहयोग पुर्याएको उल्लेख गर्दै, ‘जर्मनहरुलाई भक्तपुरका जनताले बिर्सेका छैनन् ।’ उनले भने ।
भक्तपुरको मौलिक कला संस्कृति र सम्पदा संरक्षण लाई प्राथमिकतामा राख्दै भक्तपुर नपाले काम गर्दै आइरहेको बताउँदै प्रमुख प्रजापतिले युवाहरुलाई अगाडि बढाउने नेपाल मजदुर किसान पार्टीको नीतिअनुरुप युवाहरुलाई राजनीतिक रुपमा सचेत पार्ने काम गर्दै आएको बताए ।
भक्तपुर घुम्न आउने पर्यटकहरुबाट उठेको पर्यटन शुल्कको रकमबाट भक्तपुरको सम्पदा संरक्षण, सरसफाइ, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा खर्च गर्दै आइरहेको बताउँदै उनले भक्तपुर नपाले आफूलाई प्राप्त अधिकारको प्रयोग गरी ऐन–कानुन निर्माण गर्दै कार्यान्वयनमा जोड दिंदै आएको बताए ।
प्रतिनिधिमण्डलका तर्फबाट जर्मन—दक्षिण एसियाली संसदीय समूहका सदस्य रेनेट कुनास्टले जर्मनी र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएको बताउँदै भक्तपुरको कला संस्कृति र मौलिकता संरक्षणबाट आफूहरु निकै प्रभावित भएको बताए ।
नेपालको प्राकृतिक सौन्दर्यता र सांस्कृतिक वैभवता नै यहाँका विकासका आधारहरु भएको बताउँदै उनले भक्तपुर नपाबाट भइरहेको सम्पदा संरक्षण आफैमा गौरवको विषय रहेको बताए ।
जर्मन सरकारले भक्तपुरको सम्पदा पुनःनिर्माणमा चासोपूर्वक सहयोग गर्दै आइरहेको बताउँदै उनले नेपालको परम्परागत कृषि विधिलाई आधुनिकीकरण गर्नेतर्फ ध्यान दिनु आवश्यक रहेको बताए ।
उक्त टोलीमा जर्मन—दक्षिण एसियाली संसदीय समूहका सदस्यहरू रेनेट कुनास्ट, एन्ड्रियास लरेम, पाउल लेहेरेदर, रिया स्क्रोडर, माल्टी काउफमान, अन्ड्रे हान, सोफिया तुम्स्का र सेबास्टियन स्केनेडरलगायतको उपस्थिति रहेको थियो ।
नगर प्रमुख प्रजापतिले उक्त टोलीलाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल र भक्तपुर नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गरेको थियो ।
भेटपश्चात प्रतिनिधिमण्डल टोलीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदाहरु राष्ट्रिय कला संग्रहालय, दरबार क्षेत्र, तलेजु, पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गरेको थियो ।
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar