काठमाडौँ, माघ २५ । हिमालयन कल्चरल एसोसिएसन, नेपालद्वारा समन्वय गरिएको नेपाली सांस्कृतिक टोलीले भारतको गुजरात राज्यमा आयोजित अन्तर्राष्ट्रिय रण उत्सव २०२६ मा सफल सहभागिता जनाएको छ।
जनवरी २८ देखि फेब्रुअरी ५, २०२६ सम्म सञ्चालन भएको उक्त उत्सव Namaste World India ले गुजरात सरकारको सहकार्यमा आयोजना गरेको हो। उत्सवमा विश्वका १२ देशका कलाकारहरूको सहभागिता रहेको थियो। आयोजक देश भारतबाहेक दक्षिण एसियाबाट सहभागी हुने एकमात्र देश नेपाल रहेको थियो।
नेपालतर्फबाट मोडर्न स्कूल सल्लाघारी भक्तपुर-१ का कक्षा ११ का विद्यार्थीहरू तथा प्रशासनिक सदस्यहरूको टोलीले नेपाली लोकसंगीत र लोकनृत्य प्रस्तुत गरेको थियो। टोलीमा सहभागी सदस्यहरूमा सोहिल मानन्धर, दिब्यता बस्नेत, आरव चौधरी, आलोक कोजू, आशिम श्रेष्ठ रहेका थिए।
टोलीका इन्चार्ज मणि भैला तथा संयोजक शशी कायस्थ थिए भने विद्यालयका प्रधानाध्यापक अनिल कास्पालको नेतृत्वमा सहभागिता गरिएको थियो।
हिमालयन कल्चरल एसोसिएसनका तर्फबाट अध्यक्ष निर्मल श्रेष्ठ र रोशन महर्जनको प्रतिनिधित्व रहेको थियो।
रण उत्सवअन्तर्गत गुजरातको कच्छ र अहमदाबाद सहरका विभिन्न मञ्चहरूमा नेपाली कलाकारहरूले प्रस्तुति दिएका थिए। साथै सहर तथा मरुभूमिमा आयोजना गरिएका परेडहरूमा पनि नेपाली टोलीले सक्रिय सहभागिता जनाएको थियो।
उत्सवमा पोल्याण्ड, बुल्गेरिया, मेक्सिको, टर्की, इजिप्ट, दक्षिण अफ्रिका, इन्डोनेसिया, किर्गिस्तान, नेपाल लगायतका देशका कलाकारहरूले आफ्ना–आफ्ना मौलिक लोकसंस्कृति प्रस्तुत गरेका थिए। कार्यक्रमको क्रममा सहभागी प्रत्येक देशका टोली प्रमुखहरूलाई सम्बन्धित सहरका मेयरहरूबाट सम्मान गरिएको थियो।
अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकसंस्कृतिको प्रभावशाली प्रस्तुति मार्फत नेपाललाई चिनाउन सफल भएको यस सहभागितालाई सांस्कृतिक कूटनीतिक दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
Published Date: 08 February 2026