पुँजी पर्याप्तता अनुपात गणना तालिम सम्पन्न

पुँजी पर्याप्तता अनुपात गणना तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, माघ ७ ।  कृषि ऋण तथा बचत सहकारी संस्था लिमिटेडको अन्तरलगानी तथा वित्तीय सेवा प्रवर्द्धन उपसमितिको आयोजनामा पुँजी पर्याप्तता अनुपात (CAR) गणना सम्बन्धी तालिम भक्तपुरस्थित केभिन ग्रान्ड कमलविनायकमा सम्पन्न भएको छ।

तालिम कार्यक्रममा संस्थाका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी संस्थाहरूलाई शिक्षा, तालिम, बहस पैरवी तथा अन्तरलगानीमार्फत सशक्त बनाउने उद्देश्य रहेको बताए। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्ड बैंक तथा वित्तीय संस्थाको प्रभावमा परेकाले सहकारीको मर्मअनुसार कार्यान्वयन गर्न चुनौती बढेको उनको भनाइ थियो। बैंक वित्तीय संस्थासरह प्रतिवेदन तथा विवरण पेश गर्नुपर्ने व्यवस्थाले मापदण्ड पालना गर्न कठिनाइ थपिएको उनले उल्लेख गरे। मापदण्ड कार्यान्वयनका लागि प्राविधिक ज्ञान आवश्यक रहेको बताउँदै तालिमले सहकारी संस्थाको जोखिम मूल्यांकन तथा न्यूनीकरणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

संस्थाका कोषाध्यक्ष तथा अन्तरलगानी तथा वित्तीय सेवा प्रवर्द्धन उपसमितिका संयोजक कृष्णेश्वरी मचामसीले तालिमले संस्थाको भूमिकालाई थप स्पष्ट बनाएको बताइन्। नियमनकारी निकायले जारी गर्ने निर्देशन र मापदण्डको प्राविधिक पक्षबारे प्रारम्भिक सहकारी संस्थालाई समयमै जानकारी र प्रशिक्षण दिन सकिएको उनको भनाइ थियो। सहकारी संस्थाको सम्बर्द्धन र प्रवर्द्धन गर्नु राज्यको दायित्वसमेत रहेको उनले बताइन्।

संस्थाका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोखुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डअनुसार पुँजी पर्याप्तता अनुपात गणना गर्न सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिए। कृषि तथा ऋण सहकारी संस्थाले अवधिका आधारमा ४६ वटा विवरण तथा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था भए पनि सम्बन्धित निकायबाट ती प्रतिवेदनमाथि पर्याप्त चासो नदेखिएकाले कार्यान्वयन प्रभावकारी हुन नसकेको उनको भनाइ थियो। एकद्वार नीतिमार्फत मापदण्ड जारी गर्ने तथा प्रतिवेदन र विवरण बुझ्ने व्यवस्था भए मात्र प्रणाली सहज र प्रभावकारी हुने उनले बताए।

तालिमका प्रशिक्षक नवराज घोरासाइँले वित्तीय विवरण विश्लेषणका विधिहरूका बारेमा सहजीकरण गरे। पुँजी पर्याप्तता कायम नभएमा लाभांश वितरण गर्न नपाइने भन्दै यस विषयलाई बेवास्ता गर्न नहुने उनले स्पष्ट पारे। पुँजी पर्याप्तता अनुपात कायम नभएमा सदस्यबाट पुँजी संकलन गर्ने वा विभिन्न कोषमा रहेको रकम आर्थिक वर्ष समाप्त भएपछि जगेडा कोषमा सार्नुपर्ने व्यवस्था रहेको जानकारी गराए।

तालिममा अन्तरलगानी तथा वित्तीय सेवा प्रवर्द्धन उपसमितिका सदस्य योगेन्द्र खड्गीले धन्यवाद मन्तव्य राखेका थिए। तालिम समापन कार्यक्रम उपसमितिका सदस्य अनिल कुमार सुवालले सञ्चालन गरेका थिए। तालिममा सदस्य संस्थाहरूबाट ५१ जना व्यवस्थापक तथा वरिष्ठ कर्मचारीहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 January 2026
Website | + posts