काठमाडौँ, मंसिर १ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण निम्ति तम्तयार छ। पहिलो संस्करणको फलतासँगै नयाँ उत्साह, ऊर्जा र अपेक्षासहित आजदेखि एनपिएलको दोस्रो संस्करण सुरु हुन लागेको हो।
अघिल्लो संस्करण खुला चौरमा बसेर एनपिएल हेरेका समर्थकले दोस्रो संस्करणको मज्जा भने प्यारापिटमै बसेर लिन पाउनेछन्। यसका अतिरिक्त, त्रिवि क्रिकेट रंगशालमा फ्लड लाइट पनि जडान गरिएको छ। दोस्रो संस्करणका केही खेल फ्लड लाइटमा खेलाइने छ।
सहभागी आठ टोलीहरू पनि प्रतियोगिताका लागि तयार देखिएका छन्। विश्व क्रिकेटका चर्चित प्रशिक्षक-क्रिकेटरको सहभागिताले क्रिकेटप्रेमीको उत्सुकता झन् बढेको छ।
गत वर्ष ‘प्ले-अफ’मा पुगेका चार टोली (जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र कर्णाली याक्स) यसपटक पनि धेरैको नजरमा परेका टिम हुन्।
यसबाहेक काठमाडौं गुर्खाज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले पनि यसपालि ‘कमब्याक’ गर्ने लक्ष्यसहित मैदान ओर्लनेछन्। सबै टोली एक-अर्कासँग एक-एकपटक भिड्नेछन् र त्यहीँबाट तय हुनेछ- ‘प्ले-अफ’ यात्रा।
उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।
प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपैयाँ तय गरेको छ।
एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।
यसपटक प्रतियोगिताको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। यसैगरी, उप-विजेता टोलीले ५१ लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार हात पार्नेछन्।
खेलाडीलाई व्यक्तिगत रूपमा प्रदान गरिने पुरस्कार राशिको बारेमा भने पछि घोषणा गरिने क्यानले जनाएको छ। अघिल्लो संस्करणमा पनि विजेताहरूलाई यति नै पुरस्कार राशि प्रदान गरिएको थियो ।
क्यानले दोस्रो संस्करणमा प्रायोजक, टिकट बिक्री, ओटिटी प्रशारण अधिकारी बिक्री लगायतबाट ३० देखि ४० करोड रुपैयाँसम्म आम्दानी गर्ने विश्वास लिएको छ। सहभागी टोलीहरूबाट करिब नौ करोड रुपैयाँ जुटेको छ।
ओटिटी प्रशारण अधिकारबाट पनि पाँच करोड ३० लाख रुपैयाँ प्राप्त हुने बताइएको छ। दोस्रो संस्करणमा क्यानले यसलाई आम्दानीको मुख्य स्रोत मानेको छ।
टिकट बिक्रीबाट कम्तीमा आठ करोडदेखि अधिकतम् १२ करोड रुपैयाँसम्म उठाउने अनुमान गरिएको क्यानले जनाएको छ। यसका अतिरिक्त, मुख्य प्रायोजक र अन्य प्रायोजकबाट १५ करोड ३० लाख रुपैयाँ प्राप्त हुने बताइएको छ।
Published Date: 17 November 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news