जेनजी आन्दोलन: हालसम्म विध्वंसात्मक गतिविधिमा संलग्न ३८० जना पक्राउ

जेनजी आन्दोलन: हालसम्म विध्वंसात्मक गतिविधिमा संलग्न ३८० जना पक्राउ : Icon Khabar

काठमाडौँ, कार्तिक २१ । जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको विध्वंसात्मक गतिविधिमा संलग्नहरू पक्राउ पर्ने क्रम जारी छ। त्यस दिन भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरू दिनहुँजसो पक्राउ परिरहेका छन्।

प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले हालसम्म ३८० जना पक्राउ परेको जानकारी दिए। उक्त घटनामा १५१ वटा मुद्दा दर्ता गरिसकेको छ।

यो संख्या काठमाडौं उपत्यकासहित देशभरिकै हो। यसरी पक्राउ पर्नेको संख्या सबैभन्दा धेरै पनि काठमाडौंमै छ।

डिआइजी काफ्लेका अनुसार काठमाडौंमा मात्रै ७७ वटा मुद्दा दर्ता र १७७ जना व्यक्ति पक्राउ परेका छन्।

त्यस्तै ललितपुरमा १३ वटा मुद्दा दर्ता हुँदा २६ जना पक्राउ परेका छन्। भक्तपुरमा ६ वटा मुद्दा दर्ता भई २३ जना पक्राउ परेका छन्। यसरी उपत्यकामा ९६ वटा मुद्दा दर्ता भई २२६ जना पक्राउ परेका हुन्।

पक्राउ परेका कतिपय व्यक्तिहरू पुर्पक्षका लागि थुनामा र कतिपय धरौटीमा समेत छुटिसकेका छन्। धेरैजसो व्यक्तिहरूमाथि आपराधिक उपद्रव कसुरमा मुद्दा चलेका छन्। कर्तव्य ज्यान, चोरी, हातहतियार खरखजाना लगायतका मुद्दा दर्ता भएका छन्।

भदौ २३ गते गोली लागेर नयाँबानेश्वरमै १७ जनाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरूले भोलिपल्ट संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित थुप्रै सरकारी संस्था, व्यावसायिक भवन र प्रहरी कार्यालयहरू तोडफोड र आगजनी गरेका थिए।

केही प्रमुख राजनीतिक नेताहरूका निजी घरदेखि पार्टी कार्यालय, भाटभटेनी सुपरस्टोर, हिल्टन होटल, हायात होटल लगायतमा पनि लुटपाट, तोडफोड र आगजनी गरिएको थियो। तीन जना प्रहरीको हत्यासमेत भएको थियो।

प्रहरीले सिसिटिभी फुटेज र भिडिओका आधारमा यी सबै घटना संलग्नहरूलाई पक्राउ गर्दै छानबिन अघि बढाएको हो।

भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जका दुई जना र प्रहरी प्रभाग कोटेश्वरमा रहेका एक जना गरी तीन जना प्रहरीको हत्या भएको थियो।

महाराजगन्जका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, प्रहरी जवान उत्तम थापा र कोटेश्वरका सहायक हवल्दार अमृत गुरूङको हत्या आरोपमा अहिलेसम्म १२ जना पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।

परिसरका अनुसार महाराजगन्जका असई मिलन रायको हत्या आरोपमा काभ्रेका युवराज क्यापछाकी र ‘सोनाम’ भनिने बुद्धिलाल तामाङलाई सुरूमा पक्राउ गरिएको थियो। त्यसपछि महाराजगन्जकै जवान उत्तम थापाको हत्या आरोपमा होमप्रसाद पौडेल र टिकाराम विश्वकर्मा पक्राउ परे। कोटेश्वरका सहायक हवल्दार अमृत गुरूङको हत्यामा संलग्न भएको आरोपमा अनुपम भण्डारीलाई पक्राउ गरियो।
त्यसपछि तिहारको बीचमा प्रहरीले थप पाँच जनालाई पक्राउ गर्‍यो। गोरखाका २१ वर्षीय सोमबहादुर गुरूङ, तनहुँका २१ वर्षीय राजीव गुरूङ, तनहुँकै २१ वर्षीय युनिक श्रेष्ठ तथा सर्लाहीका १७ र रामेछापका १६ वर्षीय किशोर पक्राउ परेका हुन्। उनीहरू सबैलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

सोमबार मात्रै प्रहरी वृत्त महाराजगन्जले थप दुई जनालाई पक्राउ गरेको छ। सिन्धुली गोलञ्जोरका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाका २७ वर्षीय सौरभ तामाङ पक्राउ परेका हुन्। सिसिटिभी फुटेजका आधारमा उनीहरूलाई सुकेधाराबाट पक्राउ गरिएको हो। यी दुई जनाले महाराजगन्जका प्रहरी जवान उत्तम थापामाथि कुटपिट गर्नुका साथै प्रहरी कार्यालय तोडफोड, ढुंगामुढा र आगजनी गरेको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 November 2025
Website | + posts