बाढीपहिरोका कारण एक महिनादेखि उत्तरी नाका बन्द भएपछि १७ सय कन्टेनर अलपत्र

बाढीपहिरोका कारण एक महिनादेखि उत्तरी नाका बन्द भएपछि १७ सय कन्टेनर अलपत्र : Icon Khabar

काठमाडौं, भदौ ४ । भारतपछि नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार देश हो चीन । चीनबाट विशेषगरी विद्युतीय सवारीसाधन, इलेक्ट्रोनिक वस्तु र लत्ताकपडा जस्ता वस्तु आयात हुने गरेको छ ।

चीनबाट आउने वस्तु विशेषगरी दशैं–तिहारलाई आवश्यक पर्ने वस्तु हुन् । दशैं–तिहार देखि चिसोलाई आवश्यक पर्ने लुगाकपडा खरिद गर्न अहिले धेरै व्यापारी चीन पुगेका छन् । तर, छिटो र सस्तोमा सामान आयात हुने उत्तरी नाका बाढीपहिरोका कारण एक महिनादेखि बन्द भएपछि व्यापारीहरु चिन्तित बनेका छन् ।

तातोपानी नाकाको कोदारी भन्ने स्थानमा गएको पहिरोले गत साउन १८ गतेदेखि राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । बर्खा लागे यता पटक पटक पहिरो पन्छाएर राजमार्ग सुचारु गरे पनि १८ गते परेको पानीले राजमार्ग भन्दा माथि रहेको बस्ति नै जोखिममा पर्ने भएपछि हाल राजमार्ग पूर्ण रुपमा बन्द भएको हो ।

नेपाल र चीनतर्फका भूगर्भ विद्हरुले अध्ययन गर्दा भूकम्पका कारण परेको चिरामा पानी पस्दा जमिन थिलथिलो भएको देखिएको छ । भूगर्भविद्ले ड्रिल गरेर पानी निकालेर बाटो बनाउन सकिने भने पनि फेरि वर्षा भए जोखिम बढ्ने देखिन्छ । तातोपानी भन्सारका कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालले बाटो खुलाउने प्रयास भइरहे पनि अवस्था निकै नाजुक भएकाले बाटो दशैंअघि खुल्छ भन्न सकिने अवस्था नरहेको बताए । उनले भने, ‘अहिले आउने–जाने गाडीले गर्दा बाटो पूरै जाम छ । टुटफुट हुने संवेदनशील वस्तुहरु मानिसले बोकेर वारि नेपालतर्फ ल्याइरहेका छन् । तर अन्य वस्तु जान सकेको छैन । अहिले तातोपानी नाकामा झण्डै एक हजार कन्टेनर रोकिएका छन् ।’

हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की दुईवटा सिमा नाकाका गरी १७ सयभन्दा बढी कन्टेनर रोकिएको बताउँछन् । रसुवागढी नाका बन्द हुनुपूर्व नै आइपुगेका ७ सय कन्टेनर रोकिएका छन् भने तातोपानीमा एक हजारभन्दा बढी कन्टेनर रोकिएको उनले बताए । उनले भने, ‘दशैंतिहारलाई आयात गरेको सामान दशैंपछि आएर कुनै फाइदा छैन । तातोपानी नाकाको जम्मा ३० मिटर पहिरो हो जसरी पनि हटाएर राजमार्ग खुलाउनुपर्छ ।’

भूगर्भविद्हरु भने तलको पहिरो पन्छाउँदा माथिको बस्ती जोखिखमा पर्ने बताउँछन् । स्थानीयले पनि पहिरो हटाउँदा पुनः पहिरो गएर बस्तीलाई जोखिम हुने भनिरहेका छन् । यता, रसुवागढी नाका पनि असार २४ गतेदेखि बन्द छ । तातोपानी नाकाको विकल्पको रुपमा आएको रसुवागढी नाकाको मितेरी पुल असार २४ गते आएको बढीले बगाएपछि नाका कहिले खुल्ने हो अनिश्चित भएको छ ।

चीनले पुल निर्माणको काम गरिरहेको भए पनि खोलाको बहाव उच्च रहेको र असार २४ पछि पनि ठूलो बढी आएको हुँदा निर्माण कार्यमा ढिलाइ भइरहेको रसुवागढी भन्सार कार्यालयका सूचना अधिकारी रविन्द्रप्रसाद प्याकुरेलले बताएका छन् । उनले भने, ‘चिनियाँ पक्षले भदौ १५ सम्म बेली ब्रिज सक्ने भनेको थियो । तर अहिलेको कामको गति हेर्दा सकिने अवस्था देखिँदैन । बेली ब्रिज ल्याएर राख्ने भने पनि अहिलेसम्म पुलको लागि बेस तयार भएको छैन ।’

दुवै नाका दशैंअघि खुल्ने सम्भावना देखिए पनि खुल्छ भन्ने निश्चित नहुँदासम्म केही भन्न नसकिने व्यापारीहरु बताउँछन् । थप सामान ल्याउने भन्दा पनि त्यही भएको सामान नै कसरी आउँछ भन्नेमा व्यापारीको चासो छ । उत्तरी नाकाबाट ल्याएको सामान एक महिनाभित्रै आइसक्छ भने समुन्द्रबाट ल्याउने सामान ४५ दिनदेखि दुई महिना लाग्छ । साथै समुन्द्री मार्ग महँगो पनि पर्न जान्छ ।

चीनबाट गत आर्थिक वर्षमा ३ खर्ब ४१ अर्बको वस्तु आयात भएको थियो भने २ अर्ब ६३ करोडको वस्तु निर्यात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 August 2025
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने