वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या हालसम्मकै उच्च रेकर्ड

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या हालसम्मकै उच्च रेकर्ड : Icon Khabar

काठमाडौँ, साउन ३ । वैदेशिक रोजगारीमा जाने हालसम्मकै उच्च सङ्ख्या रेकर्ड भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएको नयाँ रेकर्ड बनेको हो । विभागले शुक्रबार पत्रकार सम्मेलनमार्फत गत आवमा आठ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएकोमा सात लाख ४४ हजार ८११ पुरुष र ९४ हजार ४५५ महिलाले श्रम स्वीकृति लिएको जानकारी गराएको हो ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले गत आवमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये नयाँ श्रम स्वीकृति लिने ६० प्रतिशत र पुनः श्रम स्वीकृति लिने ४० प्रतिशत रहेको जानकारी दिए । उनका अनुसार श्रम स्वीकृति लिएकामा संस्थागत (वैदेशिक रोजगारी व्यवसायी कम्पनी) लिने तीन लाख ५९ हजार ६७५, पुनः श्रम स्वीकृति लिने तीन लाख ३३ हजार ३०९, व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने एक लाख ३३ हजार ६२७ र जिटुजी भएका देश दक्षिण कोरिया, इजरायल र बेलायतमा १२ हजार ६५३ जना छन् ।

नेपाली श्रमिकका १० प्रमुख श्रम गन्तव्य देशमा क्रमशः संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, क्रोएसिया, बहराइन रहेका छन् । गएको आवमा प्रतिमहिना औसतमा ६९ हजार ९३९ र प्रतिदिन दुई हजार तीन सय जनाले स्वीकृति लिएको देखिएको छ ।

विभागका अनुसार गत वर्ष सबैभन्दा बढी संयुक्त अबर इमिरेट्स (युएई) मा र साउदी अरब, कतार, कुवेत, ओमान, दक्षिण कोरिया, जापान र मलेसिया, बहराइनलगायत युरोप गरी ६९ देशमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर गएका छन् ।

गत आवको मङ्सिरमा सबैभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । पछिल्लो पाँच वर्षमा ३५ लाख १६ हजार ९६५ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकोमा सबैभन्दा धेरै गत आव २०८१/८२ मा आठ लाख ३९ हजारभन्दा बढीले श्रम स्वीकृति लिएको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । सो अवधिमा श्रम स्वीकृति लिएकामध्ये ३१ लाख ८१ हजार १९१ पुरुष र तीन लाख ३५ हजार ७७४ महिला छन् ।

दुई मिनेटमा श्रम स्वीकृति

पत्रकार सम्मेलनमा एक/डेढ महिनायता निवेदन आएको दुई मिनेटभित्र श्रम स्वीकृति दिइएको जानकारी दिइयो ।

महानिर्देशक भट्टराईले भने, “स्वीकृतिका लागि आवश्यक पर्ने सबै कागजात पूर्ण भएको खण्डमा निवेदन आएको दुई मिनेटभित्रै श्रम स्वीकृति दिन्छौँ ।” दुई महिनाअगाडि निवेदन दिएको एक सातामा मात्रै श्रम स्वीकृति दिने गरेकामा अहिले विभागको काममा व्यापक सुधार गरी दुई मिनेटभित्र दिन सफल भएको उहाँले दाबी गर्नुभयो । यस्तै विभागलाई पछिल्ला दिनमा बिचौलियामुक्त गरिएको पनि जानकारी दिइयो ।

महानिर्देशक भट्टराईले सेवाग्राहीको सहयोगका लागि भन्दै बिचका व्यक्तिले श्रम स्वीकृति लिएर आउनेलाई प्रवेशद्वारबाट विभागले रोक्न सफल भएको दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 July 2025
Website | + posts










ताजा
ओलीले रविबाट थालेको प्रतिशोधको श्रृंखला आरजु राणामा गएर टुंगिन्छ : बर्षमान
नेपालमा सामाजिक सञ्जाल टेलिग्राम एप बन्द
सौर्य एयरलाइन्सको जहाज दुर्घटना: कम्पनी, पाइलट र उड्डयन प्राधिकरण तीनै पक्षको गम्भीर लापरबाही
वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या हालसम्मकै उच्च रेकर्ड










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला