वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या हालसम्मकै उच्च रेकर्ड

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या हालसम्मकै उच्च रेकर्ड : Icon Khabar

काठमाडौँ, साउन ३ । वैदेशिक रोजगारीमा जाने हालसम्मकै उच्च सङ्ख्या रेकर्ड भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएको नयाँ रेकर्ड बनेको हो । विभागले शुक्रबार पत्रकार सम्मेलनमार्फत गत आवमा आठ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएकोमा सात लाख ४४ हजार ८११ पुरुष र ९४ हजार ४५५ महिलाले श्रम स्वीकृति लिएको जानकारी गराएको हो ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले गत आवमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये नयाँ श्रम स्वीकृति लिने ६० प्रतिशत र पुनः श्रम स्वीकृति लिने ४० प्रतिशत रहेको जानकारी दिए । उनका अनुसार श्रम स्वीकृति लिएकामा संस्थागत (वैदेशिक रोजगारी व्यवसायी कम्पनी) लिने तीन लाख ५९ हजार ६७५, पुनः श्रम स्वीकृति लिने तीन लाख ३३ हजार ३०९, व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने एक लाख ३३ हजार ६२७ र जिटुजी भएका देश दक्षिण कोरिया, इजरायल र बेलायतमा १२ हजार ६५३ जना छन् ।

नेपाली श्रमिकका १० प्रमुख श्रम गन्तव्य देशमा क्रमशः संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, क्रोएसिया, बहराइन रहेका छन् । गएको आवमा प्रतिमहिना औसतमा ६९ हजार ९३९ र प्रतिदिन दुई हजार तीन सय जनाले स्वीकृति लिएको देखिएको छ ।

विभागका अनुसार गत वर्ष सबैभन्दा बढी संयुक्त अबर इमिरेट्स (युएई) मा र साउदी अरब, कतार, कुवेत, ओमान, दक्षिण कोरिया, जापान र मलेसिया, बहराइनलगायत युरोप गरी ६९ देशमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर गएका छन् ।

गत आवको मङ्सिरमा सबैभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । पछिल्लो पाँच वर्षमा ३५ लाख १६ हजार ९६५ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकोमा सबैभन्दा धेरै गत आव २०८१/८२ मा आठ लाख ३९ हजारभन्दा बढीले श्रम स्वीकृति लिएको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । सो अवधिमा श्रम स्वीकृति लिएकामध्ये ३१ लाख ८१ हजार १९१ पुरुष र तीन लाख ३५ हजार ७७४ महिला छन् ।

दुई मिनेटमा श्रम स्वीकृति

पत्रकार सम्मेलनमा एक/डेढ महिनायता निवेदन आएको दुई मिनेटभित्र श्रम स्वीकृति दिइएको जानकारी दिइयो ।

महानिर्देशक भट्टराईले भने, “स्वीकृतिका लागि आवश्यक पर्ने सबै कागजात पूर्ण भएको खण्डमा निवेदन आएको दुई मिनेटभित्रै श्रम स्वीकृति दिन्छौँ ।” दुई महिनाअगाडि निवेदन दिएको एक सातामा मात्रै श्रम स्वीकृति दिने गरेकामा अहिले विभागको काममा व्यापक सुधार गरी दुई मिनेटभित्र दिन सफल भएको उहाँले दाबी गर्नुभयो । यस्तै विभागलाई पछिल्ला दिनमा बिचौलियामुक्त गरिएको पनि जानकारी दिइयो ।

महानिर्देशक भट्टराईले सेवाग्राहीको सहयोगका लागि भन्दै बिचका व्यक्तिले श्रम स्वीकृति लिएर आउनेलाई प्रवेशद्वारबाट विभागले रोक्न सफल भएको दाबी गरे।

Published Date: 19 July 2025


ताजा
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३९ जनाको शव फेला
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क