ओट्स सबैका लागि उपयुक्त नहुन पनि सक्छ

ओट्स सबैका लागि उपयुक्त नहुन पनि सक्छ : Icon Khabar

काठमाडौं, जेठ ४ । ओट्सलाई प्रायः सबैभन्दा स्वस्थ र सन्तुलित ब्रेकफास्टको रूपमा लिइन्छ । फाइबरले भरिएको, छिटो तयार हुने तथा मुटुका लागि लाभदायक मानिने ओट्स धेरै मानिसका लागि सुपरफुड जस्तै हो । तर, विशेषज्ञहरूका अनुसार ओट्स सबैका लागि उपयुक्त नहुन पनि सक्छ ।

केही मानिसहरूलाई ओट्सले पाचन समस्यादेखि एलर्जीसम्मको समस्या दिन सक्छ । यहाँसम्म कि केही रोग वा अवस्थाका व्यक्तिहरूका लागि त ओट्स सेवन गर्नु हानिकारक पनि हुन सक्छ । आउनुहोस्, आज हामी तपाईँहरुलाई कुन–कुन अवस्थामा ओट्स सावधानीपूर्वक खानु अथवा नखानु उपयुक्त हुन्छ भन्ने बारेमा जानकारी दिँदैछौँ ।

सीलिएक रोग भएका व्यक्तिहरू
सीलिएक रोग भएकाहरूका लागि ओट्स सावधानीपूर्वक उपभोग गर्नुपर्ने खानेकुरा हो । यद्यपि ओट्समा ग्लुटेन हुँदैन, यसलाई प्रशोधन गर्ने स्थानमा गहुँ अथवा जौको प्रभाव परेमा ग्लुटेन मिसिन सक्छ । यसले सीलिएक पीडितको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । साथै, ‘ग्लुटेन–फ्री’ भनिने केही ओट्समा पनि एभेनिन नामक प्रोटीनका कारण समस्या देखिन सक्छ ।

ओट्स एलर्जी भएका व्यक्तिहरू
केही व्यक्तिहरूमा ओट्सप्रति नै एलर्जी हुने दुर्लभ तर सम्भव अवस्था पनि हुन्छ । यस्तो अवस्थामा छालामा डाबर आउने, पेट दुख्ने अथवावा सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन सक्छ । यस्ता व्यक्तिहरूले ओट्स र ओट्सबाट बनेका उत्पादनहरू सेवन नगर्नु उचित हुन्छ ।

इरिटेबल बाउल सिन्ड्रोम भएका व्यक्तिहरू
इरिटेबल बाउल सिन्ड्रोम भएका व्यक्तिहरूको लागि ओट्स समस्याजनक हुन सक्छ । ओट्समा रहेको घुलनशील फाइबरले पेटमा ग्यास, फुल्ने र दुख्ने समस्या बढाउन सक्छ । यस्तो अवस्थामा ओट्सको मात्रा घटाउनु वा पूर्ण रूपमा त्याग्नु उपयुक्त हुन्छ ।

खनिजको कमी (मिनरल डेफिसियन्सी) भएका व्यक्तिहरू
यदि शरीरमा आइरन, क्याल्सियम वा जिंकको कमी छ भने ओट्सको अत्यधिक सेवनले समस्या उत्पन्न गर्न सक्छ । ओट्समा पाइने फाइटिक एसिडले त्यस्ता आवश्यक खनिजहरूको अवशोषणमा बाधा पुर्याउँछ । त्यसैले यस्ता अवस्थाका व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुसारमात्र ओट्स सेवन गर्नु उपयुक्त हुन्छ।

डाइबिटिज भएका व्यक्तिहरू
ओट्सलाई मधुमेह (डाइबिटिज) भएका व्यक्तिका लागि लाभदायक मानिन्छ, किनभने यसले रक्तमा चिनीको मात्रा बिस्तारै बढाउँछ। तर, अत्यधिक मात्रामा ओट्स खाइएमा यसले रगतमा चिनीको मात्रा एक्कासि बढाउने खतरा पनि रहन्छ । त्यसैले डायबिटिज भएका व्यक्तिहरूले ओट्स सीमित मात्रामा र चिकित्सकको सल्लाहअनुसार खानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 May 2025
Website | + posts