भक्तपुर महोत्सवको चौंथो दिन पाँचाख्यको व्यापार मेलामा गाउँगाउँबाट विभिन्न प्याखं प्रदर्शन

भक्तपुर महोत्सवको चौंथो दिन पाँचाख्यको व्यापार मेलामा गाउँगाउँबाट विभिन्न प्याखं प्रदर्शन : Icon Khabar

भक्तपुर, पुस २ । रामेश्वर मचामसी, भक्तपुर महोत्सव २०८१ अन्तर्गत महेश्वरी खेल मैदानमा भैरहेको व्यापार मेला सोमबार पनि जारी रह्यो । भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको भक्तपुर महोत्सव, २०८१ अन्तर्गतको महेश्वरी खेल मैदानमा भइरहेको व्यापार मेलामा अवलोकनकर्ताहररूको आउने क्रम बढिरहेको छ ।

व्यापार मेलाको व्यवस्थापन गरिरहेको टीम भक्तपुर युवा टीमका अध्यक्ष केशब त्वानाबासुका अनुसार सोमबार दिउँसोसम्ममा पन्ध्र हजारभन्दा बढीले व्यापार मेला अवलोकन गरिसकेको छ । व्यापार मेललामा घरको लागि प्रयोग हुने दैनिक उपभोगका सामग्रीदेखि अटोमोबाइलका स्टलहरू गरी १२० भन्दा बढी स्टल रहेका छन् ।

व्यापार मेलाको चौंथो दिन चर्चित गायक रामकृष्ण दुवालले गाएको गाउँगाउँबाट उठ गीतले मैदानको माहोल तताएको थियो । मेला हेर्न आएका सबै जना गीत सुन्न झुम्मिएका थिए ।

मेला घुम्न आएका भक्तपुर सिपाडोल निबासी सरिता लामिछानेका अनुसार मेलामा सस्तो मूल्यमा आफूले चाहेको सामान खरिद गर्न पाएको बताउनुहुन्छ । छानेर खरिद गर्न सके धेरै नै राम्रो सामान किन्न सक्ने उनी बताउछन्।

भक्तपुर महोत्सवमा आफ्ना विद्यार्थीहरुलाई भक्तपुर महोत्सवका विभिन्न स्थानहरु घुमाउँदै महेश्वरी खेल मैदानको व्यापार मेला आइपुगेका भक्तपुर लिवालीस्थित भिम आदर्श आधारभूत विद्यालयका प्रधानाध्यापक पूजा दाहालले भक्तपुर महोत्सवले महोत्सव हेर्न आउने आगन्तुकहरुले भक्तपुरलाई अझ नजिकबाट चिन्ने र बुझ्ने अवसर पाउने विश्वास व्यक्त गरीन्। उनले महोत्सवको विभिन्न स्थानमा प्रदर्शनमा राखेका विभिन्न कला, संस्कृति, नेवारी संस्कृति र प्रत्यक्ष प्रदर्शनमा राखिराखेका नेवारी संस्कारले भक्तपुर नगरपालिकाले भक्तपुरका सबै विद्यालयमा अध्यापन गराइराखेको स्थानीय पाठ्‌यक्रम ख्वपको पहिचानलाई अति आवश्यक र धेरै महत्वपूर्ण रहेको बताईन्।

आफ्नै घरमा सानो उद्योग सञ्चालन गरेर सुकुटी व्यवसाय गरिरहेका कर्णप्रसाद लाखाले पनि मेलामा स्टल राखेर सामान बेचिराखेका छन्। व्यापार मेलामा आएका आगन्तुकहरूले आफ्नो स्टलमा आएर सुकुटी खरिद गरेर लगेकोमा सन्तुष्ट नै रहेको उनले बताए । भक्तपुर महोत्सवअन्तर्गत व्यापार मेलामा आफूजस्तै साना व्यवसायीलाई अवसर दिनु राम्रै रहेको बताए।

रामेछापबाट भक्तपुर बसी अध्ययन गरिरहेको युनिका जोशीले भक्तपुर महोत्सवमा भक्तपुरका सबै स्थान घुम्न नपाएपनि आफूले घुम्न भ्याएको ठाउँमा धेरै राम्राराम्रा विषयवस्तु हेर्न र पढ्न पाएको बताए । भक्तपुर महोत्सवले भक्तपुरको विषयमा अझ बढी थाहा पाउन पाएकोमा उनी खुसी छन्।

व्यापार मेलामा हुने सांगीतिक कार्यक्रममा विभिन्न गीत तथा नृत्य पनि प्रस्तुत गरिएको छ । नवीन आधारभूत विद्यालय र बाल सेवक आधारभूत विद्यालयका विद्यार्थीहरूले नेवारी पोशाकमा देखाएको धिमे नृत्य र नेवारी गीतमा प्रदर्शन गरेको नृत्यले व्यापार मेला हेर्न आएका आगन्तुकहरुको ध्यान तानेको छ । त्यस्तै वागीश्वरी माध्यमिक विद्यालयले मञ्चमा प्रस्तुत गरेको माक प्याखंले त झन भक्तपुर बाहिरका आगन्तुकहरुलाई रमाइलो पार्नु‌का साथै माक प्याखंको विषयमा आगन्तुकहरूले धेरै जिज्ञासा पनि व्यक्त गरेको छन् ।

माक प्याखंको विषयमा थप बुझ्न पाएको काभ्रेका अनिशा थापा र सुनिता मोक्तानले भक्तपुर नगरका विभिन्न स्थानमा पनि देवीदेवताका नाच हेर्न पाएको जानकारी दिए। भक्तपुर नगरपालिकाको आयोजनामा भइर‌हेको भक्तपुर महोत्सव २०८१ पुस २ गते समापन हुने भएपनि व्यापार मेला भने पुस ६ गते शनिबारसम्म चल्ने र व्यापार मेलाको सांगीतिक कार्यक्रममा भक्तपुरको विभिन्न सांगीतिक टोलीहरूको गीत तथा नृत्य प्रदर्शन हुने जानकारी व्यापार मेलाको व्यवस्थापन गरिरहेको भक्तपुर युवा टीमका अध्यक्ष केशब त्वानाबासूले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 December 2024
Website | + posts