भक्तपुर, कार्तिक ८ । भक्तपुरमा गत शुक्रबारदेखि सुरु भएको ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या हिजो शनिबार सम्पन्न भएको छ। ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका–७, गोमारीस्थित यातामा आयोजित दुईदिने सम्मेलनमा नेपालभाषा, साहित्य, कला, संस्कृति तथा समसामयिक सामाजिक र राजनीतिक विषयमा छलफल गरिएको थियो।
सम्मेलनको समापन समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिमा सक्रिय व्यक्तिहरू अध्ययनशील र अनुसन्धानकर्ता पनि हुनुपर्ने बताए। समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र समाधान खोज्न राजनीतिकर्मीले अरूको भनाइमा मात्र भर नपरी आफ्नै अध्ययन, अनुसन्धान र अनुभवबाट ज्ञान हासिल गर्नुपर्ने उनको भनाइ थियो।
उनले राजनीतिक कार्यकर्ताको मूल्याङ्कन पार्टी सदस्यताका आधारमा मात्र नभई योग्यता, ज्ञान, अनुभव र कार्यक्षमताका आधारमा गर्नुपर्ने बताए। साहित्यको अध्ययनले विभिन्न देशका जनताको जीवनशैली, कला, संस्कृति, भूगोल र सामाजिक अवस्था बुझ्न सहयोग गर्ने उल्लेख गर्दै उनले नेपालभाषा, नेपाली र अंग्रेजीलगायत जुनसुकै भाषा शुद्ध र शिष्ट रूपमा बोल्न जान्नुपर्नेमा जोड दिए।
बिजुक्छेँले साहित्यकार प्रेमचन्द र लुशुनको उदाहरण दिँदै साहित्यका माध्यमबाट पनि देश र जनताको पक्षमा योगदान दिन सकिने बताए। युवालाई खेलकुदमा सहभागी गराउन, विद्यालय तहदेखि प्राविधिक शिक्षामा दक्ष बनाउन र वैदेशिक रोजगारीका कारण देशमा परेको सामाजिक तथा आर्थिक प्रभावबारे गम्भीर हुनुपर्ने उनको भनाइ थियो। उनले देशका उद्योगधन्दा निजीकरण तथा बिक्री गर्ने प्रवृत्ति र युवालाई विदेश पठाउने नीतिको आलोचना गर्दै राजनीति देश र जनताको हितमा केन्द्रित हुनुपर्ने बताए।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले देशको राजनीतिक तथा आर्थिक अवस्थाबारे चर्चा गर्दै विगत ३५ वर्षदेखि देशहितविपरीतका गतिविधि जारी रहेको आरोप लगाए। उनले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यले २०५४ सालमा अघि सारिएको ‘एक घर, एक स्नातक’ अभियानको चर्चा गर्दै शिक्षा क्षेत्रमा भएको प्रगतिबारे धारणा राखे।
सुवालले संविधान निर्माण, एमसीसी, भारतीय एकाधिकार पुँजी तथा देशको स्वाधीनतासम्बन्धी विषयमा नेमकिपाले उठाउँदै आएका मुद्दा प्रस्तुत गर्दै शासनमा सहभागी दलहरूको कार्यशैलीको आलोचना गरे।
सम्मेलनको दोस्रो दिन किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु मोतीबहादुर खायमली, समाजसेवी कृष्णदेवी वाङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेललाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
साहित्य प्रतियोगिताअन्तर्गत कविता विधामा शकुन्तला महर्जन प्रथम, हरिसुन्दर पोतामहाँ द्वितीय, शिल्भिया प्रजापति तृतीय र ओमकृष्ण श्रेष्ठ चौथो भए। कथा विधामा कमलकेशरी थुयाजू प्रथम, सूर्यनारायण फाँजू द्वितीय, श्रिया पहिजू तृतीय र एलके सुन्दर चौथो भए। विजयी साहित्यकारलाई सम्मेलनका प्रमुख अतिथि बिजुक्छेँले पुरस्कार वितरण गरेका थिए।
दुई दिनसम्म चलेको सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिएका थिए। नयाँ पुस्ताका सर्जकले प्रतियोगितात्मक रूपमा आफ्ना सिर्जना प्रस्तुत गरेका थिए भने वरिष्ठ साहित्यकार तथा आमन्त्रित सर्जकले पनि रचना वाचन गरेका थिए। साहित्यिक कार्यक्रमसँगै गीत, संगीत, नाटक, ख्याल, नृत्य, गीतिनाटक तथा अन्य सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएका थिए।
सम्मेलनको पहिलो दिन तःमुंज्याको मुखपत्र ‘तःमुंज्या ख्वपौं’ विमोचन गरिएको थियो। हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘नयाँ पुस्ता’ पुस्तक पनि सार्वजनिक गरिएको थियो। पहिलो दिन विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्नुका साथै भाषा, साहित्य, संस्कृति र समसामयिक विषयमा छलफल गरिएको थियो।
दोस्रो दिन इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ, पत्रकार लक्ष्मणराज जोशीलगायतले मन्तव्य राखेका थिए। आयोजक समितिका उपाध्यक्ष कृष्णगोविन्द खाइजूले स्वागत गरेको कार्यक्रमको सभापतित्व ‘न्हुजः वापौ’का सम्पादक महन्त महर्जनले गरेका थिए। आयोजक समितिका कोषाध्यक्ष कृष्णगोविन्द लाखाले आयव्यय प्रस्तुत गरेका थिए भने सचिव पुरुषोत्तम ग्वाछाले धन्यवाद ज्ञापन गरेका थिए।
नेपाल संवत् ११४६ को अवसरमा आयोजित सम्मेलनको उद्घाटन शुक्रबार सांस्कृतिक गुरु तथा ज्येष्ठ नागरिक मोतीबहादुर खायमलीले गरेका थिए। नेपाल संवत् ११०० अर्थात् विक्रम संवत् २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको आयोजकले जनाएको छ।
दुई दिनसम्म प्रस्तुत गरिएका सांस्कृतिक विधाका प्रतियोगिताको नतिजा केही दिनपछि सार्वजनिक गरिने र विजेतालाई छुट्टै कार्यक्रममा पुरस्कार वितरण गरिने आयोजक समितिका प्रचारप्रसार तथा प्रकाशन संयोजक बलराम गोसाईले बताए। सम्मेलनका अध्यक्ष उकेश कवांका अनुसार कार्यक्रममा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी तथा भाषा र संस्कृतिप्रेमीको सहभागिता रहेको थियो।
नेपालभाषाको संरक्षण, नयाँ पुस्तालाई साहित्य सिर्जनामा प्रोत्साहन तथा साहित्य र संस्कृतिमार्फत सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको तःमुंज्याले चार दशकभन्दा लामो समयदेखि भाषा, साहित्य र सांस्कृतिक गतिविधिलाई निरन्तरता दिँदै आएको छ।