लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली

लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली : Icon Khabar

काठमाडौं, असोज २७ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दै छ। ओमानको अल अमारात क्रिकेट ग्राउन्डमा हुने यो खेल नेपाली समयअनुसार बिहानको पौने बाह्र बजेतिर सुरु हुनेछ।

यसअघि आइतबार भएको शृङ्खलाको पहिलो खेलमा कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट शतकको मद्दतमा नेपालले क्यानडामाथि जित हासिल गरेको थियो भने शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई पराजित गरेको थियो।

ओमानको जितसँगै अंकतालिकाको शीर्ष चारभित्र पर्ने नेपालको सम्भावना सकिएकाले नेपाली टोलीको मुख्य ध्यान अब एकदिवसीय मान्यता जोगाउनु तथा अङ्कतालिकामा आफ्नो स्थिति सुदृढ गर्नुमा केन्द्रित रहेको छ।

हाल लिग-२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अङ्कसहित छैटौँ स्थानमा छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौं स्थानमा रहेको छ। त्यस्तै घरेलु टोली ओमान २९ खेलबाट ३३ अंकसहित चौथो स्थानमा रहेको छ।

शीर्ष चारभित्र पर्न नसकेपछि नेपालले अब सन् २०२७ को एकदिवसीय विश्वकप छनोट यात्राका लागि प्लेअफ चरण खेल्नुपर्ने निश्चित भएको छ। उक्त प्लेअफ प्रतियोगितामा नेपालसँगै नामिबिया, क्यानडा र युएई प्रतिस्पर्धामा रहनेछन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले लिग-२ चक्रपछि ओडीआई मान्यता कायम राख्ने विषयमा स्पष्ट प्रावधान सार्वजनिक गरिनसकेको भए तापनि अंकतालिकाको कम्तीमा छैटौँ स्थानभित्र रहनुलाई सुरक्षित मानिएकाले बाँकी खेलहरूमा जित निकाल्नु नेपालका लागि निकै महत्त्वपूर्ण रहेको छ।

Published Date: 13 October 2026






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड