काठमाडौँ, कार्तिक ५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । सबै अस्पतालमा आकस्मिक शल्यक्रिया समयमा नै गर्ने व्यवस्था मिलाइएको छ । वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाका लागि तीन महिनाभन्दा बढी कुर्नु नपर्ने व्यवस्था गरिएको छ ।
सबै सङ्घीय अस्पतालमा दुई सिफ्ट बहिरङ्ग सेवा सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ । वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, डडेल्धुरा अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, मानसिक अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, कान्ति बाल अस्पताल, जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, आयुर्वेद चिकित्सालय नरदेवी र सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट दुई सिफ्ट बहिरङ्ग सेवा सञ्चालन गरिएको छ ।
त्यसैगरी सरकारले उपचार खर्च बेहोर्न नसक्नेको ज्वलनको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । सरकारले कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमार्फत ज्वलनको उपचारको व्यवस्था गरिने जनाएको छ । वीर अस्पतालमा पनि १५ शैयाको सुविधा सम्पन्न ज्वलन उपचार वार्ड सञ्चालनमा ल्याइएको छ ।
Published Date: 21 October 2024