भक्तपुरमा सञ्चालित नापतौल डोर कार्यक्रममा ६८० व्यापारी व्यवसायी लाभान्वित

भक्तपुरमा सञ्चालित नापतौल डोर कार्यक्रममा ६८० व्यापारी व्यवसायी लाभान्वित : Icon Khabar

भक्तपुर, असोज ९ । भक्तपुर उद्योग वाणिज्य संघ र जिल्लास्थित नगरपालिकाहरुको सहकार्यमा सञ्चालन गरिएको नापतौल कार्यक्रमबाट ६८० जना व्यवसायीहरुले सेवा प्राप्त गरेका छन् ।

जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले भक्तपुर जिल्लाका चारवटै नगरपालिकाका विभिन्न स्थानमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो ।

गत भाद्र १८ गतेदेखि भक्तपुर नगरपालिकाको वशगोपालमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सुरु गरिएको थियो । भक्तपुर नगरपालिकाका ६ स्थानमा सञ्चालन गरिएको कार्यक्रमबाट २१४ जना व्यापारी व्यवसायीहरुले नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरण गराएको संघले जनाएको छ ।

संघका अनुसार चाँगुनारायण नगरपालिकाका विभिन्न ५ स्थानमा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा १०६ जना व्यापारी व्यवसायीहरु लाभान्वित भएका थिए । यसैगरी, सूर्यविनायक नगरपालिकाका २ स्थानमा सञ्चालित नापतौल डोर कार्यक्रममा १८८ जना व्यापारी व्यवसायीहरुले सेवा प्राप्त गरेको संघका कोषाध्यक्ष एवं संघअन्तर्गत बजार अनुगमन समितिका संयोजक विश्वराम दुवालले बताए । उनका अनुसार मध्यपुर थिमी नगरपालिकाका ३ स्थानमा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा १७१ जना व्यापारी व्यवसायीहरुले आफूहरुले प्रयोग गर्दै आएका नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरण गराएका थिए ।

यसैबीच, संघले एक कार्यक्रमको आयोजना गरी नापतौल डोर कार्यक्रममा सहभागी गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरका कर्मचारीहरुलाई धन्यवाद ज्ञापनसहित सम्मान गरेको छ । संघका अध्यक्ष रोशनीमैयाँ धौबन्जाले कर्मचारीहरुलाई खादा ओढाएर सम्मान गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष धौबन्जाले डोर कार्यक्रमबाट जिल्लाका व्यापारी, व्यवसायीहरु आफ्नै घरआँगनमा नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरण गराई लाभान्वित भएको बताइन् । भक्तपुर उद्योग वाणिज्य संघ स्थापना कालदेखि जिल्लाका उद्योग व्यवसायीहरुको हकहित संरक्षण प्रवद्र्धनका लागि क्रियाशील रहँदै आएको भन्दै उनले नापतौल डोर कार्यक्रम पनि जिल्लाका व्यापारी तथा व्यवसायीहरुको सहजतालाई मध्यनजर गरी जिल्लामै कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले नापतौल डोर कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालयको कर्मचारीहरुलाई सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि संघले अनुरोध गरेको समयमा यसरी नै जिल्लाका व्यापारी तथा व्यवसायीहरुलाई सेवा दिन आग्रहसमेत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 September 2024
Website | + posts