भक्तपुर नगरपालिकामा सञ्चालित नापतौल डोर कार्यक्रममा २१४ व्यवसायी लाभान्वित

भक्तपुर नगरपालिकामा सञ्चालित नापतौल डोर कार्यक्रममा २१४ व्यवसायी लाभान्वित : Icon Khabar

 भक्तपुर, भदौ २५ । भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल कार्यक्रमबाट २१४ जना व्यवसायीहरुले सेवा प्राप्त गरेका छन् ।

जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले जिल्लास्थित भक्तपुर नगरपालिकाका ६ स्थानमा कार्यालय राखेर गत मंगलबारदेखि नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो ।

वंशगोपालस्थित ३ नं. वडा कार्यालय परिसरमा कार्यालय राखेर पहिलो दिन सञ्चालन गरिएको डोर कार्यक्रममा २१ जना व्यापारी तथा व्यवसायीहरुले आआफ्ना नापतौलका सामग्रीहरु दर्ता तथा नवीकरण गरेको संघका कोषाध्यक्ष एवं संघअन्तर्गत बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले बताए ।

उनका अनुसार बुधबार सुकुलढोकामा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा २५, बिहीबार लिवालीबाट ४१, आइतबार कमलविनायकबाट ५९ जना व्यवसायी तथा व्यापारीले सेवा लिएका थिए ।

यसैगरी, सोमबार सूर्यविनायक बाराहीस्थानमा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा २७ र मंगलबार च्वङ्गा गणेश मन्दिर नजिकको ढुंगेधारा पाटीबाट ४१ जना व्यवसायी तथा व्यापारीले नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरण गराएको उनले जानकारी दिए ।

संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले डोर कार्यक्रमबाट भक्तपुर नगरपालिकाका व्यापारी, व्यवसायीहरु आफ्नै घरआँगनमा नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरण गराई लाभान्वित भएको बताइन् । उनले गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरु काठमाडौं पुगेर नापतौलका सामग्री दर्ता तथा नवीकरण गराउनुपर्ने झन्झटबाट मुक्त भएको बताइन् ।

यसैबीच, चाँगुनारायण नगरपालिका र संघको सहकार्यमा बुधबारदेखि चाँगुनारायण नगरपालिकामा नापतौल डोर कार्यक्रम सञ्चालन हुने भएको छ । पहिलो दिन बुधबार दुवाकोट बैंक्वेटमा, बिहीबार झौखेलस्थित ३ नं. वडा कार्यालय परिसरमा, शुक्रबार सुडाल प्रहरी चौकी परिसरमा र आइतबार नगरकोटस्थित ६ नं. वडा कार्यालय परिसरमा कार्यालय राखेर डोर कार्यक्रम सञ्चालन हुने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 September 2024
Website | + posts