वर्तमान अवस्थामा सहकारीका चुनौतीहरु (विचार)

वर्तमान अवस्थामा सहकारीका चुनौतीहरु (विचार) : Icon Khabar

भक्तपुर, भदौ १ । देशको अर्थतन्त्रको तीन खम्बा मध्ये एउटा महत्वपूर्ण खम्बा सहकारी हो । नेपालको संविधानको राज्यको आर्थिक उद्देश्यमा ‘सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता मार्फत उपलव्ध स्रोतको अधिकतम परिचालनद्धारा तीव्र आर्थिक विकास गर्ने, र आर्थिक असमानताको अन्त्य गर्ने’ उल्लेख छ । त्यसभन्दा अघिको अन्तरिम सविधान २०६३ मा पनि तीनखम्बे ‘सहकारी, निजी र सरकारी’ अर्थ नीति अम्बलम्बन गर्ने उल्लेख थियो ।

वि.सं. २०१३ साल चैत्र २० गते स्थापना भएको चितवनको शारदानगर स्थित ‘बखान सहकारी ऋण समिति’ बाट नेपालमा आधुनिक सहकारी शुरुवात भएको मानिन्छ । तर, सरदार भिमवहादुर पाँडेद्वारा लिखित ‘त्यसबखतको नेपाल’ पुस्तकमा सहकारीको शुरुवात वि.सं.२००० साल भाद्रमा “लायण्ड मोर्टगेज बैङ्क एण्ड कोअपरेटिभ सोसाईटी” बनेपामा खोलिएको उल्लेख छ ।

पहिलो सहकारी ऐनको रुपमा वि.सं.२०१६ सालको सहकारी समाज ऐन हो । त्यस पछि २०४१ सालमा साझा सहकारी ऐन बन्यो । त्यसबेला सहकारी संस्थाहरु थोरै थिए । सहकारी ऐन,२०४८ लागु भएपछि नेपालमा सहकारीको सङ्ख्या ह््वात्तै बढ्यो । त्यस ऐनमा सहकारीले सदस्यहरु सँग बचत सङ्कलन र ऋण लगानी गर्न सक्ने व्यवस्था गरियो । साथै, र सहकारी संस्थालाई ‘स्वायतता र स्वातन्त्रता’ प्रदान गरियो । हाल सहकारी ऐन, २०७४ लागु छ ।

सहकारी विभागको तथ्याङ्कअनुसार नेपालमा अहिले ३० हजार भन्दा बढी सहकारी संस्थाहरु छन् । यी संस्थाहरुले झण्डै ५ खर्बको बचत ऋणको कारोवार गर्छन् । सहकारीमा ५६ प्रतिशत महिलासहित ७३ लाख सदस्य छन् । तीमध्ये ४० प्रतिशत संस्थाहरु बागमती प्रदेशमा छन् ।

सहकारीले नेपालको आर्थिक एवम् सामाजिक क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको छ । त्यसका उदाहरणहरु प्रशस्त छन् । तर, सहकारी संस्थाहरु बढेसँगै विकृति पनि बढ्दो छ । सिद्धान्तत स्वनियमनमा चल्नु पर्ने सहकारी संस्थाहरुले त्यसलाई व्यवहारमा पालना नगर्दा सहकारी क्षेत्रमा चुनौती थप्दै गएको छ । स्वनियमन र सुशासनमा नचलेका सहकारी संस्थामा संकट देखा परेको छ । बचतकर्ताहरुको बचत जोखिममा पारेको छ । किन त्यसो भयो विचार विमर्श गरौं ।

स्वनियमन र सुशासन

सहकारीका अन्तराष्ट्रिय सिद्धान्त सात वटा छन् । ती सिद्धान्त मध्ये दोस्रोमा सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण र तेस्रोमा ‘सदस्यहरुको आर्थिक सहभागिता’ हो । सहकारी ऐन, २०७४ को दफा ५० को उपदाफा १ मा बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाले सदस्यहरुसँग मात्र कारोवार गर्न पाउँछ । हरेक सहकारी संस्थामा दर्ता गर्ने निकायले स्विकृत प्रदान गरिएका विनियम हुन्छन् । त्यसलाई पालना गर्ने कर्तव्य त्यसका सञ्चालक र सदस्यहरुको हुन्छ ।

विनियममा सदस्य बनाउन सक्ने कार्यक्षेत्र पनि तोकिएको हुन्छ । कार्यक्षेत्र भित्रका व्यक्तिहरुलाई मात्र सहकारी संस्थाले सदस्य बनाउन सक्छ । सदस्यले सहकारी संस्थाको महत्वपूर्ण निर्णयमा सहभागी हुन पाउने अधिकार राख्दछ । त्यस्तो अधिकार विशेषत साधारणसभामा पारित गरिने सहकारी संस्थाको नीति नियम, कार्यविधि, बजेट तथा कार्यक्रम र व्याजदर परिमार्जन समेतको अधिकार सदस्यहरुमा हुन्छ । त्यतिमात्र होईन, सञ्चालक बन्ने वा चयन गर्ने अधिकार समेत सदस्यमा रहन्छ । त्यसैले सहकारीलाई स्वनियमन र सुशासनमा चल्ने भनिएको हो ।

सञ्चालकहरुबाट बचतको दुरुपयोग

सदस्यहरुको स्वनियमन र सुशासनमा चल्नुपर्ने सहकारी संस्थाहरु मध्ये केहि सहकारी संस्थाका सञ्चालकहरुले आफ्नो निजी काममा लगानी गर्न सर्वसाधारणलाई व्याजको प्रलोभनमा पारी संस्थाको कार्यक्षेत्र भन्दा बाहिरका व्यक्तिहरुबाट समेत बचत जम्मा गर्न लगाए र रकम सङ्कलन गरे । हरेक कार्य सदस्यका हितमा हुनुपर्ने र सदस्यनै सर्वेसर्वा हुनुपर्नेमा त्यस्ता सहकारी संस्थाका सञ्चालकहरु सर्वेसर्वा भई कानूनविपरीत रकम सङ्कलन गरे ।

सजिलोपाराले पाएको रकम जथाभावि घरजग्गा तथा निजी व्यवसायमा लगानी भएको रकम केहि आर्थिक मन्दिको प्रभाव पर्ने वित्तिकै व्यवसायमा संकट देखिए र बचतफिर्ता गर्न नसकि संकट देखिए । नियमक निकाय पनि मुख दर्शक जस्तै नै भए । अनि लहलहमा त्यसता सहकारी संस्थाहरुको बृद्धि हुन थालेका हुन् र सहकारीमा बचतकर्ताको बचत असुरक्षा बढेका हुन् । राज्यले सहकारीका नयाँनयाँ मापदण्ड र निर्देशनहरु जारी गरेतापनि विकृति नियन्त्रणमा आउन सकेको छैन, बरु विकृति बढ्दो छ । त्यसको अन्त्य हुनु आवश्यक छ । स्वनियमन र सुशासनमा चलेका सहकारी संस्थामा अहिले पनि मज्जासँग सञ्चालन भइरहेको छ ।

निस्क्रिय लेखा सुपरिवेक्षण समिति

सहकारी संस्थाका सञ्चालकहरुले बदमासी गर्न थाले वा ऐन नियम र विनियम तथा नीति नियमहरु उलङ्घन गर्न थाले भने समयमा सचेत गराउने काम लेखा सुपरिवेक्षण समितिको हो । कुनै सञ्चालक वा कर्मचारीहरुबाट बचत रकम दुरुपयोग वा हिनामिना गरेको देखिएमा शुरुमा सञ्चालक समितिलाई जानकारी गराउने र त्यसपछि सचेत गराउने काम लेखा सुपरिवेक्षेण समितिको हो ।

त्यसबाट पनि समाधान नभएमा साधारणसभा र नियमनकारी निकायमा लेखिपठाउने काम लेखा सुपरिवेक्षण समितिको कर्तव्य भित्र पर्दछ । अधिकारसम्पन्न लेखा सुपरिवेक्षण समिति सक्रिय भई जिम्मेवारी वहन गर्ने हो,भने सहकारी संस्थामा विकृति न्युन हुन्छ ।

कर्मचारीहरुप्रति पूर्ण निर्भरता

अहिले प्रविधिको युग हो । सहकारी संस्थाको कारोवारको अभिलेखीकरण कार्य सफ्टवेयर मार्फत हुन थालेको छ । सहकारी संस्थाको संस्थागत विकास सँगसँगै सदस्यहरुलाई दिईने सेवा सुविधा कर्मचारीहरुमा बढी निर्भर हुन थालेको छ । नियमतः सञ्चालकहरु स्वयमसेवी हुन् । दैनिक कार्यमा संलग्नताले प्रविधिको शिप तथा ज्ञान कर्मचारीहरुमा बढी हुनेगर्छ ।

आर्थिक कारोवार पनि कर्मचारीहरुबाट नै हुन्छ । नियन्त्रण प्रणाली कमजोर भएको सहकारी संस्थाहरुमा कर्मचारीहरबाट पनि रकम अपचलन गरेका उदाहरणहरु भेटिएका छन् । आर्थिक अपचलन हुन नदिनका लागि नीतिगत रुपमै आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्नुका साथै सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति सचेत र सकृय हुन जरुरी छ ।

साँवा भन्दा व्याजको लोभ

आफू सदस्य भएको टोल छिमेकको समुदायमा आधारित सहकारी संस्थामा बचत कारोवार नगरी व्याजको लोभमा बदनियपूर्वक खोलिएका सहकारी संस्थामा बचत जम्मा गर्नाले पनि विकृति बढेको छ । सहकारीका सदस्यहरुले बुझ्नुपर्ने न्युनतम कुराहरु जानकारी लिइराख्नु पर्ने हुन्छ ।

बजारमा फलफूल तथा तरकारी खरिद गर्दा ओल्टाइपल्टाइ गरी छनौट गर्छौ तर आफ्नो पसिनाको कमाईबाट आर्जित रकम कुनै संस्था वा व्यक्तिलाई जिम्मा लगाउनुपूर्व राम्ररी सोच्दैनौँ । व्याजको लोभमा आफ्नो चिनजान वा कुनै जानकारी नै नभएको सहकारी संस्थामा रकम बचत गर्नाले धेरैको बचत जोखिममा परेको छ । यसले समाजमा सहकारीप्रति नै नकारात्मक प्रभाव पारेको छ ।

सहकारी सिद्धान्त र मूल्यमान्यतामा सञ्चालित सहकारी संस्थाहरुले सहकारी संस्थाका सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्नु अति आवश्यक देखिएको छ । समाजमा पनि सहकारी र बैङ्कका भेदवारेमा जानकारी दिनु पर्ने आवश्यकता छ । कम्तीमा आफ्ना सदस्यहरुलाई समुदायमा आधारित सहकारी संस्थाहरुले निम्न कुराको जानकारी दिनु आवश्यक छ ।

–  व्याजको लोभमा बचत गर्नु हुँदैन ।
– जुन संस्थामा बचत गर्ने हो, त्यस संस्थामा अनिवार्य सदस्य हुनै पर्छ । शेयरको प्रमाण पत्र प्राप्त गर्नु पर्छ ।
–  सदस्यलाई सहकारी संस्थाको निर्णयहरुमा आफ्नो अभिमत जाहेर गर्ने अधिकार प्राप्त हुन्छ ।
– वार्षिक साधारणसभामा सदस्यहरु सक्रिय सहभागी हुनुपर्छ । साधारण सभामा आमन्त्रण नगरेमा खवरदारी गर्नु पर्छ ।
– आर्थिक विवरण र लेखापरीक्षण प्रतिवेदनबारे प्रत्येक सदस्यले जानकारी पाउनु पर्छ ।
– सहकारीमा थोरै भएपनि नियमित मासिक बचतको अनिवार्य व्यवस्था भएको हुन्छ ।
–  सहकारी संस्थाको सम्पति ( नगद जिन्सी) सञ्चालकहरुले आफूखुसी प्रयोग गर्न पाउँदैनन् ।
– आफू सदस्य भएको सहकारी संस्था माथिल्लो सहकारी सङ्घमा आवद्ध भए,नभएको जानकारी लिनु पर्छ । नभए त्यस्ता सहकारी संस्थामा स्वच्छन्दता बढेको पाइन्छ ।
– वित्तीय विवरण सार्वजनिक नगरेको संस्थालाई विश्वास गर्नु हुँदैन ।
–  सदस्यको आर्थिक एवम् साँस्कृतिक स्तर उकास्न मद्दत नगर्ने संस्था सही सहकारी होइनन् ।
– सामाजिक कार्यमा प्राथमिकता नदिने र नाफामात्र ध्यान दिने सहकारीलाई विश्वास गर्नु हुँदैन ।
–  बचत तथा ऋण सहकारी संस्थामा सदस्यहबाट बचत सङ्कलन र सदस्यहरुमात्रलाई नै ऋण प्रदान गर्ने हो ।

अटेरी ऋणी सदस्यहरु

सहकारी संस्थाका सदस्यहरुले आफ्नो व्यापारव्यवसाय बढाउन र खाँचो टार्न ऋण लिने गर्छन् । सहि सदुपयोग गरेमा वित्तीय सक्षमता बढ्छ । दुरुपयोग गरिएमा वा अर्काको लहलहैमा अनुभव वा क्षमता नभएको क्षेत्रमा लगानी गरिएमा रकम डुब्ने सम्भावना रहन्छ । ऋण लिएपछि साँवा व्याज बुझाउनु पर्ने हुन्छ । त्यसलाई बेवास्ता गरिएमा हर्जना तिर्नुपर्ने हुन्छ ।

ऋण लिँदा गरिएका सम्झौता बमोजिम समयमा साँवा व्याज बुझाउन तरताकेता गरिँदा पनि नबुझाउने ऋणी सदस्यलाई ‘अतेरी ऋणी सदस्य’ भन्दा फरक पर्दैन । त्यसता सदस्यले सहकारी संस्थामा धेरै व्यक्तिहरुको बचत रकम जम्मा भइरहेको कुरा विर्सनु हुँदैन । अर्को कुरा सहकारी संस्थाले कानुन बमोजिम असुल गर्छ भने कुरा पनि थाहा पाउनु पर्छ ।

निजी क्षेत्रको दवाव

नेपालको वित्तीय क्षेत्रमा सहकारीको भूमिका बढ्दोछ । वित्तीय क्षेत्रमा यसले लगभग बीस प्रतिशत स्थान ओगटेको छ । यसबाट निजी बैङ्किङ क्षेत्र अत्तालिएको देखिन्छ । बैङ्कका मालिक ठूल्ठूला सिमित पुँजीपतिहरु हुन्छन् । सहकारी संस्थामा पँुजी थोरै, तर धेरै व्यक्तिहरुको संलग्नता हुन्छ । पुँजीका आधारमा बैङ्कमा अधिकार जमाउन पाइँन्छ भने सहकारीमा पुँजीका आधारमा नभइ सदस्य व्यक्तिका आधारमा मताधिकार पाइँन्छ । त्यहि भएर बैङ्कलाई पुँजिवादको स्नायुकेन्द्र भन्ने गरिन्छ ।

नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित गतबर्षको मौद्रिक नीतिमा देशमा आर्थिक मन्दिको सङ्केत गरिएको थियो । बैङ्कहरुलाई ऋण लगानीमा कडाई गर्ने र बचतमा ब्याज दर घटाउने नीति लिएको थियो । बचतमा व्यक्तिलाई भन्दा संघ संस्थाहरुलाई दुई प्रतिशतले व्याज कम प्रदान गरिने नीतिलाई कार्यान्वयनमा ल्याएको थियो । यसले सहकारीको बचत बैङ्क तर्फ आकर्षित भैइरहेको छ ।

बैंकर्सहरुको प्रभावले सरकारले सहकारी संस्थामा व्यक्तिगत बचतको सिमा रु.२५ लाख तोक्न खोजिएको थियो । चालु वर्षमा बैङ्कहरुले बचतमा व्याजदर घटायो । यसको असर पनि सहकारीमा प्रत्येक्षरुपमा परेको छ । यसबाट सहकारी क्षेत्र कमजोर भई तरलताको समस्या उत्पन्न हुन सक्छ र सहकारी क्षेत्र भन्दा निजी क्षेत्र बलियो हुनजान्छ । यस तर्फ सहकारी संस्थाहरुले ध्यान पुर्याउन आवश्यक छ ।

कानूनी समस्या

एक व्यक्ति एक सहकारीको नीति नयाँ सहकारी ऐन, २०७४ मा छ । त्यसले सहकारीलाई संकुचनमा ल्याउन सक्छ । सहकारी संस्थाले आफ्ना सदस्यलाई ऋण लगानी गर्दा धितो बन्धकीमा अधिक कर लाग्ने व्यवस्था बागमति प्रदेश सरकारले गरेको गरेको थियो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र अभियान सँग सम्बन्धित संघ संस्थाहरुबाट चर्को विरोध भएपछि हाल मालपोतमा कर छुट भएको छ ।

सहकारी संस्था र सहकारी सङ्घबीच अन्तर लगानी गर्दा बचतको व्याजमा १५ प्रतिशत अग्रिम कर कायम नै छ । कर्जा सूचना केन्द्र र ऋण असुली न्यायधिकरणको प्रयोगमा आउन सकेको छैन । अधिक तरलता रहेको अवस्थामा र जगेडाकोष प्रयाप्त हुँदा पनि उत्पादनमूलक कार्यमा लगानी गर्ने कानुनी बन्दोवस्तको अभाव छ ।

सहकारीमा देखा परेका विकृतिले गर्दा (सेकेण्ड टायर इन्ष्टिच्युशन) दोस्रो तहको नियामक निकाय खडा गरी कडारुपमा नियमन गर्ने भनी बजेटमा व्यवस्था गरिसकेकोछ । कानून पनि संसोधन गर्ने तरखरमा सरकार छ । संसोधनको नाममा समुदायमा आधारित सहकारी संस्थाहरुलाई समेत निमोठ्ने काम हुनबाट अभियान सचेत हुन जरुरी छ ।

यी र यस्ता सहकारी कुराहरु सहकारीका सदस्य तथा समाजलाई जानकारी दिन सकिएमा सहकारीलाई प्रयोग गरी बचत दुरुपयोग गर्ने दुष्कर्मी सञ्चालकहरुले बदमासी गर्ने मौका पाउँदैनन् । सहकारीलाई सहकारी सिद्धान्त र मूल्य मान्यताभित्र सञ्चालन गर्न गराउन सकिएमा मात्र सहकारी अभियान सुदृढ हुन्छ, बलियो हुन्छ ।

यसै सन्दर्भमा विश्व सर्वहारावर्गका महान नेता का.लेनीनले भन्नु भएको थियो “सहकारी प्रणाली भनेको सामाजिक प्रणाली हो र सभ्य सहकारी प्रणाली मात्र समाजवाद प्रणाली हो” । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 August 2024
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित