बंगलादेशमा अन्तरिम सरकार बनाउने सेना प्रमुखको घोषणा

बंगलादेशमा अन्तरिम सरकार बनाउने सेना प्रमुखको घोषणा : Icon Khabar

ढाका, साउन २१ । बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ । सेना प्रमुख वकार–उज–जमानले सञ्चारमाध्यमहरुलाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बनाउने घोषणा गरेका हुन् । ‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं । हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग कुरा गर्नेछौं ताकि स्थिति समाधान गर्न सकियोस्’ उनले भनेका छन् ।

ढाका ट्रिब्युनका अनुसार उनले आन्दोलनको नाममा हुने सबै हिंसा बन्द गर्न आह्वान गर्दै विभेद विरोधी विद्यार्थी आन्दोलनका क्रममा भएका सबै मृत्युको नयाँ सरकारले न्याय सुनिश्चित गर्ने वाचा गरेका छन् । ढाका विश्वविद्यालयको कानुन विभागका प्रोफेसर आसिफ नजरुललाई विज्ञप्ति जारी गरी विद्यार्थीलाई आन्दोलन फिर्ता लिन अनुरोध गर्न भनिएको छ ।

जनरल वाकरले शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएर देश छाडेको बताएका छन् । उनले सेनाको मुख्यालयमा राजनीतिक दलसँगको बैठकमा अवामी लिगका कुनै पनि सदस्य नरहेको बताएका छन् । प्रधानमन्त्री हसिनाले सोमबार पदबाट राजीनामा दिएर देश छाडेकी छिन् । उनी चढेको हेलिकोप्टर भारतको अगरताला प्रस्थान गरेको बीबीसीले जानकारी दिएको छ ।  उनी बहिनीसँगै त्यसतर्फ उडेकी हुन् ।

प्रदर्शनकारीहरू सोमबार प्रधानमन्त्री निवासमै प्रवेश गरेका छन् । निवासमै छिरेपछि असुरक्षित महसुस गरेकी हसिनाले बहिनीसँगै देश छाडेको स्रोतलाई उद्धृत गर्दै एजेन्सीहरूले उल्लेख गरेका छन् । जुलाई पहिलो सातादेखि बंगलादेशमा आरक्षणविरोधी आन्दोलन सुरू भएको थियो । उक्त आन्दोलन अहिले सरकारविरुद्ध मोडिएको छ ।आन्दोलनकारीको माग केही सम्बोधन गरिए पनि पछिल्लो समय प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै आन्दोलन उग्र बनेको हो । बंगलादेशमा जारी आन्दोलनमा हालसम्म तीन सयको मृत्यु भएको छ ।

Published Date: 05 August 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक