साइकलिङ गाइड तालिम तथा युवाहरूलाई स्थानीय उद्यमशीलतासगँ जोड्ने तयारी

साइकलिङ गाइड तालिम तथा युवाहरूलाई स्थानीय उद्यमशीलतासगँ जोड्ने तयारी : Icon Khabar

काठमाडौं, साउन १६ । साइकल कनेक्ट भक्तपुर, भक्तपुर पर्यटन विकास समिति, र भक्तपुर घरेलु तथा साना उद्योग संघ बीच साइकलिङ गाइड र युवाहरूलाई स्थानीय उद्यमशीलतासँग जोड्ने विषयमा छलफल भएको छ। गत श्रावण ५ गते आयोजित गो लोकल मेला र कोरा भक्तपुर २०२४ साइकलिङ च्यालेन्ज कार्यक्रमको सन्दर्भमा मंगलबार भक्तपुर घरेलु तथा साना उद्योग संघको बैठक कक्षमा तीनै संस्थाका पदाधिकारीहरू बीच संयुक्त सिंहावलोकन बैठक भएको थियो।

भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले बैठकको अध्यक्षता गर्दै स्थानीय उत्पादन मेला गर्ने विषयमा शुरूवाटी चरणमा दुइवटा कार्यक्रममा सम्बन्धनै नरहेको र कसरी गर्न सकिन्छ होला भन्ने अन्योलता रहेको बताए। तर कार्यक्रमको तयारी गर्दै जाँदा नौलो अनुभव र युवाहरूसँग काम गर्दा थप उर्जा प्राप्त भएको कुरा पनि राखे। विगतमा पनि गो लोकल मेला आयोजना गरिएको तर कोरा भक्तपुर २०२४ सँग संयुक्त रूपमा गर्दा देशभरीबाट आएका साइकल यात्रीहरूले मेला अवलोकन गर्दा यो कार्यक्रम अझ व्यापक अनुभव भएको बताए।

साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाले कोरा भक्तपुर २०२४ साइकलिङ च्यालेन्जबारे बिस्तारमा अनुभव, सहभागीहरूबाट प्राप्त प्रतिक्रिया तथा सुझावहरू र कमी कमजोरीहरू बारे जानकारी गराए। यस वर्ष कोरा भक्तपुरमा गो लोकल मेलाले थप रौनकता थपेको साथै साइकल कनेक्ट भक्तपुरको एक मुख्य उद्देश्य अनुरूप साइकल संस्कृतिलाई समाजको विभिन्न तहमा प्रचार गर्न भक्तपुर पर्यटन विकास समिति र घरेलु संघको सहयोग निकै प्रभावकारी रहेको कुरा राख्दै दुवै संस्थाप्रति आभार व्यक्त गरे।

भक्तपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष राम सुन्दर भेलेले विगतमा पनि पर्यटकीय क्रियाकलापको रूपमा भक्तपुरको विभिन्न स्थानमा साइकलिङ गतिविधि गरेको अनुभव साझा गर्दै जुनसुकै कार्यक्रम शुरू गर्नु भन्दा निरन्तरता पाउँछ कि पाउँदैन भन्ने पक्ष महत्वपूर्ण रहने जिकिर गरे।

कोरा भक्तपुर २०२४ तथा गो लोकल मेला कार्यक्रमको विभिन्न पक्षमा भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष बिरेन्द्र जती, महासचिव श्याम सुन्दर श्रेष्ठ, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्मा, तथा साइकल कनेक्ट भक्तपुरका सदस्यहरू रमेश कोजु, सुसन चक्रधर, र सुरेश त्वानाबासुले पनि छलफल र विश्लेषण गरेका थिए। भक्तपुरमा साइकल संस्कृतिप्रति युवाहरूको आकर्षण बढिरहेकोले यसलाई पर्यटन व्यवसायसँग जोड्न यथाशिघ्र साइकलिङ गाइड तालिम आयोजनाको तयारी गर्न साइकल कनेक्ट भक्तपुर र भक्तपुर पर्यटन विकास समितिले सहकार्य गरेर अगाडि बढ्नेछ। साथै, साइकल कनेक्ट भक्तपुरको प्रस्तावमा भक्तपुर घरेलु तथा साना उद्योग संघले मासिक रूपमा साइकल कल्चरल क्वेस्ट कार्यक्रममार्फत युवा तथा विद्यार्थीहरूलाई भक्तपुरका विभिन्न स्थानीय उत्पादन र उद्योगको अध्ययन भ्रमणको लागि सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
0
+1
0
Published Date: 31 July 2024
Website | + posts