दिनभर खोज्दा पनि भेटिएनन् यात्रुसहित त्रिशूलीमा खसेका दुईटा बस, सुरक्षा समितिको वैठक बस्दै

दिनभर खोज्दा पनि भेटिएनन् यात्रुसहित त्रिशूलीमा खसेका दुईटा बस, सुरक्षा समितिको वैठक बस्दै : Icon Khabar
तस्बिरः कृष्ण आचार्य -रासस

काठमाडौं, असार २८ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गएको पहिरोमा परी  यात्रुसहित त्रिशूली नदीमा खसेका दुईटा बसको अवस्था अज्ञात छ । सडकमा गुडिरहेको यात्रुबाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको प्रहरीको भनाइ छ । आज दिनभर खोजी गर्दा पनि बस फेला पार्न नसकिएको नेपाल प्रहरीको बागमती प्रदेशका प्रमुख डीआईजी विष्णु केसीले जानकारी दिए ।

नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन् । एन्जल वीरगञ्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा शुक्रवार बिहान सो बस घटनामा परेको केसीको भनाइ छ ।

एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको खुलेको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको संख्या मात्रै इन्ट्री गरेर चढाएको पाइएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरीको ठूलो टोली परिचालन गरिएको थियो ।

गणपति डिलक्समा चालक दलका सदस्यसहित ३१ जना यात्रु सवार रहेको बताइएको छ । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ जना प्रहरीको सम्पर्कमा छन् । उनीहरू हुन्, रौतहटको देवाही गोनाहि नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपालिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता ।

दुई वटा बस त्रिशूलीमा खस्दा कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । आज (शुक्रबार) साँझ ६ बजेसम्म खोज्दा पनि बसहरू नभेटिएपछि आजको लागि खोजी कार्य स्थगित भएको हो । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, भोेलि बिहानबाट कसरी खोजीमा जाने भन्नेबारे आजै बेलुकी सुरक्षा निकायको बैठक बसेर छलफल हुनेछ ।

Published Date: 12 July 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु