नेत्रज्योति संघ र पत्रकार महासंघबिच सम्झौता, सञ्चारकर्मीहरुको निःशुल्क आँखा जाँच हुने

नेत्रज्योति संघ र पत्रकार महासंघबिच सम्झौता, सञ्चारकर्मीहरुको निःशुल्क आँखा जाँच हुने : Icon Khabar

काठमाडौँ, माघ १९ । नेपाल नेत्रज्योति संघ र नेपाल पत्रकार महासंघका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार महासंघको केन्द्रिय कार्यलयमा दुई संस्थाहरुका बिचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

आँखा उपचार सम्बन्धी आम जनतामा जनचेतना फैलाउने र पत्रकारहरुका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्ने सम्बन्धी सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्रा.डा चेतराज पन्त र महासंघका तर्फबाट अध्यक्ष बिपुल पोख्रेलले हस्ताक्षर गरेका हुन्।

उक्त हस्ताक्षर कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघ नेपालका अध्यक्ष प्रा.डा. चेतराज पन्तले जनचेतना र सूचनाको अभावले आँखासम्बन्धि समस्या भएका बिरामीहरुले उपचार पाउन नसकेको बताए । उनले निको हुने आँखाका रोगीको समेत उपचार हुन नसकेको भन्दै त्यसको निराकरण गर्न संस्था लागिपरेको बताए।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रविधिको विकाससंगै लामो समय कम्प्युटर लगायतका उपकरणको प्रयोगले पत्रकारहरुमा आँखाको स्वास्थ्य समस्या देखिन थालेको बताए। उनले दुई संस्थाबीचको सम्झौताले देशभरिका पत्रकार लाभान्वित हुने बताए ।

वि.स २०३५ सालमा स्थापना भएको गैरनाफामुलक संस्था नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई सर्भसुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।

संघले आर्थिक अभावका कारण कोहि पनि नागरिकले दृष्टिबिहीन जीवन यापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरुसंगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखामुनी नेपाली नागरिकहरुले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 February 2023
Website | + posts