आइकन मिडिया हाउसले सम्पन्न गर्यो “रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम २०८१”

आइकन मिडिया हाउसले सम्पन्न गर्यो “रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम २०८१” : Icon Khabar

भक्तपुर, असार १५ । भक्तपुरमा आज २१औं राष्ट्रिय धान दिवसको अवसरमा “रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम २०८१ ” सम्पन्न भयो । आइकन मिडिया हाउस प्रा लि र आइकन खबर डटकमद्वारा आयोजित उक्त कार्यक्रम भक्तपुरको ताथली, मसानडोलमा सम्पन्न भएको हो।

असार महिना नेपालमा धान रोप्ने मुख्य समय हो । खेतमा पानी सहित खनजोत गरेर हिल्याएको ठाउँमा धान रोप्ने गरिन्छ । रोपाईंको बेलामा हिलो खेल्नु एउटा उत्सव नै हो । १५ असारलाई सरकारले धान दिवसको रुपमा मनाउने गर्छ । त्यसैले यो दिन रोपाईं महोत्सव कार्यक्रमहरु पनि आयोजना गरिन्छ ।

आजको कार्यक्रममा भक्तपुरका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। नेपाल कृषिप्रधान मुलुक भएकोले कृषि अन्तर्गतको धान रोपाईं पनि एक महत्वपूर्ण कार्य भएको कुरालाई मनन् गर्दै सो मिडिया हाउसले उक्त कार्यक्रम आयोजना गरेको हो।

पछिल्लो समयमा कृषिजन्य कार्य गर्नका लागि आवश्यक जग्गा जमिन विशेषत: काठमाडौँ उपत्यकामा घट्दै गइरहेको सन्दर्भमा नयाँ पुस्तालाई यस प्रति त्यति चासो नभएको कुरालाई ध्यानमा राखी उक्त मिडिया हाउसले नयाँ पुस्तालाई पुर्णजागरन गर्नका लागि युवाहरुकै सहभागितामा आजको कार्यक्रम सम्पन्न गरेको हो।

रोपाई जात्रालाई अझ धेरै रोचक र रमाइलो बनाउनका लागि भक्तपुरको ख्वप नेवा खल: का युवा वाद्यवादकहरुले नेवा समुदायको प्रचलित बाँसुरी बाजा बजाएका थिए। उक्त समूहले असार महिनालाई प्रतिनिधित्व गर्ने असाराया सिन्हाज्या, सिरसाया हेकु लगायतका धूनहरु प्रस्तुत गरेको थियो।

हिलोमा रमाउंदै, छुपु छुपु धान रोप्दै, एक अर्का संग नाच गान गर्दै सम्पन्न भएको आजको सो रोपाईं जात्रा मुलत: निकै रोचक देखिएको थियो। कार्यक्रममा नेपालकी पहिलो महिला धिमे तथा नौबाजा बादक इन्दिरा लाछिमस्युले पनि वाद्यवादन बजाएर आफ्नो धून हरु प्रस्तुत गरेकी थिइन्।

कार्यक्रमका लागि ख्वप नेवा खल:, बालकृष्ण प्रजापतिको फोटोग्राफि र सकिरा बिउटि प्वाइण्ट एण्ड कस्मेटिकको साथ सहयोग रहेको थियो। योसँगै वरिष्ठ फोटोग्राफर सुरेशराज शाक्य, भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बज्राचार्य, गायक रोशन धौभडेल, फोटोग्राफर राकेश बुयो लगायतको सहभागिता रहेको थियो।

आइकन मिडिया हाउस प्रालिले नेपाली अनलाइन समाचार पोर्टल आइकन खबर डटकम संचालन गर्दै आएको छ। त्यसैगरी मिडियाका विभिन्न कार्यहरु पनि गर्दै समाजलाई सकारात्मक दिशानिर्देशन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 June 2024
Website | + posts