युरोकपमा एम्बाप्पेको नाक भाँचियो, फ्रान्सको विजयी सुरूआत

युरोकपमा एम्बाप्पेको नाक भाँचियो, फ्रान्सको विजयी सुरूआत : Icon Khabar

काठमाडौँ, असार ४ । कप्तान केलियन एमबाप्पे घाइते भएको खेलमा दाबेदार मध्येको एक फ्रान्सले युरो कप २०२४ मा विजयी सुरुआत गरेको छ।

जर्मनीमा जारी युरोको समूह डीमा सोमबार फ्रान्सले अस्ट्रियालाई १-० ले हराएको हो। आत्मघाती गोलमा फ्रान्स विजयी भएको हो। म्याक्सिमिलेन वेबरले ३८ औं मिनेटमा गरेको आत्मघाती गोल नै खेलको निर्णायक बन्यो।

खेलका दौरान नाकमा चोट लागेपछि एमबाप्पेलाई‌ अस्पताल लगिएको थियो। उनको‌ नाकको शल्यक्रिया गर्नु पर्ने बताइएको छ। विपक्षी खेलाडीसँग ढोक्किएका कारण ९० औं मिनेटमा उनको नाकमा चोट लागेको थियो।

त्यसअघि उपाधि दाबेदार मध्येको अर्को टोली बेल्जियम आफ्नो पहिलो खेलमा स्लोभाकियासँग स्तब्ध भएको थियो। समूह ई को त्यो खेलमा बेल्जियमले १-० को हार बेहोरेको हो ।

ईभान स्क्ररान्जले सातौं मिनेटमा गरेको गोलमा स्लोभाकिया विजयी भएको हो।रोबर्ट बोजेनिकको शक्तिशाली प्रहार बेल्जियमका गोलरक्षक कोएन कासटिल्सले बचाएपछि रिबाउन्डमा स्क्ररान्जले सहज गोल गरेका थिए ।

बेल्जियमले खेलमा निकै अवसरहरू सिर्जना गर्यो । बेल्जियमले दुई पटक गरेको गोल मान्य भएन । दुवै पटक रोमेलु लुकाकुले गरेको गोल भिएआरले अमान्य गरेको थियो ।

५६औं मिनेटमा लुकाकु अफसाइड भएपछि गोलले मान्यता पाएन भने ८६औं मिनेटमा लुइस ओपेन्डाले ह्याण्डबल गरेपछि गोल अमान्य भएको थियो ।

सोही समूहको अर्को खेलमा रोमानियाले युक्रेनमाथि ३-० को जित निकालेको थियो।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
1
Published Date: 18 June 2024
Website | + posts