काठमाडौं उपत्यकाको तापक्रमले गर्यो रेकर्ड ब्रेक, आज ३५.३ डिग्री सेल्सियस मापन

काठमाडौं उपत्यकाको तापक्रमले गर्यो रेकर्ड ब्रेक, आज ३५.३ डिग्री सेल्सियस मापन : Icon Khabar

काठमाडौँ, असार १ । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखले आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरेको छ।

मौसविद् मीनकुमार अर्यालयका अनुसार आजको अधिकतम तापक्रम यो वर्षकै सबैभन्दा बढी हो। जेठ १७ गते काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो।

काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम विस २०४६ वैशाख २५ गते ३६.६ डिग्री सेल्सियस मापन भएकव थियो। पूर्वी भूभागसम्म आएको मनसुन नफैलिएका कारण काठमाडौं लगायत पश्चिमी भूभागहरूमा तापक्रम बढेको अर्यालले बताए।

शनिबार लुम्बिनी र सुदूरपश्चिमका तराईका थुप्रै भूभागहरूमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ। दिपायलमा ४२ डिग्री सेल्सियस, वीरेन्द्रनगरमा ४०.६ डिग्री सेल्सियस, धनगढीमा ४२.७ डिग्री सेल्सियस, नेपालगन्जमा ४२.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ।

तापक्रम ४० भन्दा बढी रहेका पश्चिम तराईका भूभागहरुमा मौसम पूर्वानुमान महाशाखाले तातो हावाको चेतावनी दिएको छ। यी स्थानहरूमा भोलि पनि तापक्रम उच्च नै रहने मौसमविद् अर्यालले बताए। काठमाडौंमा भने भोलिदेखि तापक्रम केही घट्न सक्ने उनले बताए।

‘काठमाडौंमा भोलिदेखि बादलहरू आउने र तापक्रम केही घट्ने सम्भावना छ,’ उनले भने। अर्यालका अनुसार मनसुनको प्रभाव रहेको पूर्वी भूभागमा पनि कम पानी परेको छ।

त्यहाँ रहेको मनसुन पश्चिमतिर बढ्न नसक्दा पश्चिमी भूभागहरूमा पनि पानी नपरेकाले गर्मी बढेको छ।

‘बादलहरू आएको जस्तो भएपनि जलवाष्पयुक्त हावा ल्याउन सकेको छैन। पूर्व र पश्चिमको वायुबीच अहिले लडाईं चलिरहेको छ,’अर्यालले भने।

नेपालमा जेठ २८ गते मनसुन भित्रिएको थियो। मनसुन देशभर फैलिनका लागि पश्चिमी भूभागमा हुने पश्चिमी वायुलाई विस्थापित गर्नुपर्छ। त्यसो नहुँदा मनसुन देशभर फैलिन अझै समय लाग्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 June 2024
Website | + posts