भियतनामको एक अपार्टमेन्टमा आगलागी, १४ जनाको मृत्यु

भियतनामको एक अपार्टमेन्टमा आगलागी, १४ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, जेठ ११ । भियतनामको राजधानी हनोइको साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।

मध्य हनोइमा रहेको अपार्टमेन्ट भवनसम्म मात्र दुई मिटर (६ फिट पाँच इन्च) चौडा गल्लीमार्फत पुग्न सकिन्थ्यो । यसबाट दमकल त्यहाँ पुग्न नसकेपछि अग्नि नियन्त्रकहरूले पाइपमार्फत आगो निभाएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भियतनाम समाचार एजेन्सीका अनुसार राति करिब १२ः३० मा आगो लागेको थियो र धेरै विस्फोटको आवाज पनि सुनिएको थियो । आगो निभाउन एक घण्टा लागेको थियो । छिमेकी गुयेन थान ट्रुङले आफू सुतिरहेका बेला विस्फोटको आवाज सुनेको र हेर्न बाहिर निस्केको बताए । ‘मैले घरमा झटका महसुस गर्न सक्थे’, उनले भने ।

आगलागीको समयमा उक्त भवनमा घर मालिकका परिवारका सात र अन्य १७ जना भाडामा बस्ने गरी २४ जना रहेको सञ्चारमाध्यमले जनाएका छन् । घाइतेको अवस्था स्थिर रहेको र उनीहरूको हनोइ ट्रान्सपोर्ट अस्पतालमा उपचार भइरहेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार विद्युतीय बाइकको बिक्री र मरम्मत गर्नका लागि ग्यारेजका रूपमा प्रयोग गरिएको भवन नजिकैको सानो आँगनमा आगो लागेको थियो ।

पछि प्रहरीले गल्लीलाई घेरा हालेको थियो । अपार्टमेन्टमा जलेका मोटरसाइकल, रूखका साथै छरिएका सामानहरू थिए । मृतकका परिवारलाई क्षतिपूर्ति स्वरूप एक हजार ९६२ डलर र घाइतेलाई एक हजार १७७ डलर दिने अधिकारीहरूले बताएका छन् । यो आगलागीले गत वर्ष सेप्टेम्बरमा हनोइमा भएको आगलागीलाई सम्झाएको छ । उक्त समयमा ५० भन्दा धेरै व्यक्तिको मृत्यु भएको थियो । सो बेला पनि उद्धार कार्यमा साँघुरो गल्लीले अवरोध पुर्‍याएको थियो ।

 

Published Date: 24 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक