कोशी साझा नाम हो, विवाद र आन्दोलन आवश्यक छैन : अध्यक्ष ओली

कोशी साझा नाम हो, विवाद र आन्दोलन आवश्यक छैन : अध्यक्ष ओली : Icon Khabar

इलाम, वैशाख १८ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी साझा नाम भएको बताएका छन् । इलाम–२ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङको विजय सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी सबैको साझा नाम भएकाले कोही भुलभुलैयामा पर्न नहुने बताए ।

‘हामी कयौं जात, कयौं धर्म, वर्ण, मिलेर बसेका छौं । यसरी नै समाज र देश बनेको छ,’ ओलीले भने, ‘त्यसैले हामी सबैको पहिलो पहिचान नेपाल हो, नेपाली हो ।’ ओलीले कोशी प्रदेशको नामका विषयमा भएको आन्दोलन र विवाद आवश्यक नभएको बताए । उनले भने, ‘हामी सबै नेपाली हो । पहिले पनि मेची, कोशी, बागमतीलगायत अञ्चल थिए । यसरी साझा नाम राख्दा कसैलाई हेपेको हुँदैन । कसैको पहिचान मेटेको हुँदैन । तपाईंहरू भुलभुलैयामा नपर्नुस् ।’

ओलीले सुहाङ नेम्बाङलाई जिताउने इलामका मतदातालाई धन्यवाद दिएका छन् । उनले पार्टीगत रूपमा साथ दिने नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पनि धन्यवाद दिए । उनले थपे, ‘इलामका सचेत जनतालाई धन्यवाद । कतिपय एमाले छोडेर एमाले हराउन लागेका थिए । हामीलाई तपाईंहरूले साथ दिनुभयो । माओवादी र विप्लवको पार्टीको साथको लागि धन्यवाद । सबै पार्टीका नेता र कार्यकर्तालाई धन्यवाद ।’

उनले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालतिर संकेत गर्दै यस्तो बताएका हुन् । झलनाथ इलाममा चुनावी कमाण्डर बनेर पार्टीका उम्मेदवार जितबहादुर राईलाई जिताउन लागेका थिए । तर, राईले ५ सय मत पनि पाएनन् । अध्यक्ष ओलीले खनालप्रति संकेत गर्दै भने, ‘एमाले छाडेका यसै जिल्लाका नेताहरू एमाले हराउन बेस्सरी लागेका थिए ।’

ओलीले देशलाई आर्थिक रूपमा समृद्ध बनाउने एजेण्डा नेकपा एमालेसँग मात्रै भएको बताए । उनले भने, ‘यो देशलाई सधैं गरिब राखिराख्ने छुट हामीलाई छैन । मुलुकलाई आर्थिक रूपमा बलियो र समृद्ध बनाउने एजेण्डा नेकपा एमालेसँग मात्रै छ ।’ उनले युवा पुस्ताका नेता सुहाङ नेम्बाङले जितेसँगै इलाम सबै हिसाबले अघि बढ्न थालेको दावी गरे । उनले भने, ‘तपाईंहरूले सुहाङलाई जिताएर पठाउनु भयो । अब इलामको विकासको जिम्मा सुहाङले र सुहाङको जिम्मा म लिन्छु । यो जिल्ला अब सबै हिसाबले अगाडि बढ्यो, बढ्यो ।’
Published Date: 30 April 2024
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय