काठमाडौं, चैत २२ । मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई पक्राउ गरेको हो ।
उनीविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ । पौडेललाई मेयर बालेनले निलम्बन गरेका थिए ।
सो प्रकरणपछि पौडेलले फेसबुकमा मेयरविरुद्ध स्टाटस लेखेका थिए । सोही आधारमा उनीविरुद्ध मुद्दा दायर भएको हो । पौडेलले फेसबुकमा ‘मेयर बालेनले नियुक्ति गरेका एक सय ६६ जना र निजहरूले दुई वर्षमा खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगरवासीले तिरेको कर हो’ भनेर लेखेका थिए । स्टाटसले महानगरपालिकाविरुद्ध द्वेष फैलाएको भन्दै प्रहरीले नै मुद्दा दायर गरेको हो ।
अभियोगपत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकामा मेयर तथा कर्मचारीलगायत सिंगो महानगरपालिकाप्रति नैतिकता र शिष्टचारविरुद्धका सामग्री घृणा वा द्वेष फैलाउने उद्देश्यले महानगरपालिका र समुदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने गरी तथ्यहीन, गलत तथा भ्रामक स्टाटस लेखी महानगरपालिकाको गरिमा तथा छविमा आँच आउने पोस्ट गरी विद्युतीय कारोबारको कसुर गरेको वारदात स्थापित हुन आयो ।’ प्रहरीसँगको बयानमा पौडेलले आवेगमा आएर स्टाटल लेखेको र महानगरपालिकाविरुद्ध घृणा फैलाउने आफ्नो उद्देश्य नरहेको बताएका छन् ।
Published Date: 04 April 2024