फाइनलमा नेदरल्यान्ड्सलाई नेपालले दियो १८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य

फाइनलमा नेदरल्यान्ड्सलाई नेपालले दियो १८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य : Icon Khabar

काठमाडौँ, फागुन २२ । त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट १ सय ८४ गुमाएर रन जोड्यो । एक समय विशाल लक्ष्यतर्फ अग्रसर नेपालले बिचमा रनगति बढाउन नसक्दा त्यहाँसम्म पुग्न सकेन । अन्त्यतिर लगातार विकेट गुमाउँदा नेपाल डेथ ओभरमा दबाबमा परेको थियो ।

नेपालका लागि सर्वाधिक योगदान दिएका ओपनर आसिफ शेख अर्धशतकबाट चुके । ४७ रनमा माइकल लेभिटको एलबीडब्लु धरापमा परेका उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । उनी १४ औं ओभरको चौथो बलमा पेभेलियन फर्किएका थिए ।

गुलशन झाले २५ बलमा ३ छक्कासहित ३४ रनको योगदान दिएका थिए । उनी सातौं विकेटको रुपमा १९ औं ओभरमा आउट भएका थिए ।

तेस्रो ओभरको पहिलो बलमा आसिफले २ रनमा रहँदा जीवनदान पाएका थिए । भिभिएन किंग्माको बलमा मिडविकेटमा माइकल लेभिटले सहज क्याच छोडेका थिए । ११ औं ओभरको पाँचौ बलमा पनि आसिफ जोगिए । माइकल लेभिटको बलमा किंग्माले थर्ड म्यानमा क्याच समाउन नसक्दा बल चौका भएको थियो ।

त्यसअघि चौथो ओभरको तेस्रो बलमा कुशल भुर्तेल आउट भए । दोस्रो बलमा छक्का प्रहार गरेपछि तेस्रो बलमा पनि स्टम्प पछाडी सट खेल्ने धुनमा उनी बोल्ड भए । उनले १० बलमा १ चौका र २ छक्कासहित २० रन जोडे ।

दोस्रो विकेटका लागि रोहित र आसिफले ५९ रनको साझेदारी गरे । रोहित दशौं ओभरको दोस्रो बलमा स्कुप सट प्रहार गर्ने धुनमा टप एज लाग्दै विकेटकिपरको हातबाट समातिए । रोहितले १९ बलमा ३ चौका र १ छक्कासहित २५ रन जोडे ।

दीपेन्द्र १ रन जोड्दै टिम भान डर गुग्टेनबाट एलबीडब्लु आउट भए । कुशल मल्ल ११ बलमा ३ छक्कासहित २६ रन जोड्दै लङ अफमा विक्रमजित सिंहको हातबाट समातिए । करण केसीले ४ बलमा १ छक्कासहित ९ रन जोडे ।

आरिफ शेख ठूलो सट खेल्ने धुनमा पहिलो बलमै क्याच आउट भए । एक समय १७ ओभरमा १५८-४ को स्थितिमा रहेको नेपाल लगातार विकेट गुमाउँदा १८.२ ओभरमा १६८-८ को स्थितिमा पुगेको थियो ।

नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । नेपालले आज टोलीमा कुनै परिवर्तन गरेको छैन ।

Published Date: 05 March 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा