गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन : Icon Khabar

काठमाडौं, फागुन १४ । वरिष्ठ गायक तथा भजन शिरोमणी भक्तराज आचार्य अब हामीमाझ रहेनन् । सोमवार साँझ ५ बजे ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा ८१ वर्षीय भजन शिरोमणी आचार्यको बाटोमै निधन भएको संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले जानकारी दिएका छन् ।

अहिले मेडिसिटी अस्पतालमै रहेका संगीतकार संघको पूर्व अध्यक्ष तथा संगीतकार लक्ष्मण शेषका अनुसार आचार्यको निधन सोमवार साँझ ५ बजे भएको हो । संगीतकार शेषका अनुसार संगीतकार संघका अध्यक्ष चेतन सापकोटोसंग छलफल गरेपछि मंगलवार बिहान अन्तिम श्रद्धाञ्जलीका कार्यक्रम घोषणा गरिने छ ।

भजन शिरोमणी आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलवार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने बताइएको छ ।

यस्तो छ भक्तराज आचार्यको जीवनी

वि.सं १९९९ असोज १६ मा धनकुटामा जन्मिएका भक्तराज आचार्य नेपाली सांगीतिक क्षेत्रका नक्षत्र थिए भन्दा फरक पर्दैन । यसैकारण उनलाई भजन शिरोमणिको उपनाम प्रदान गरिएको थियो ।

बुबा बलभद्र तथा आमा रेनुकाको कोखबाट विसं १९९९ साल असोज १६ मा जन्मिएका आचार्यले डेढ वर्षकै उमेरमा आफ्ना बुवा गुमाएका थिए ।

सोहि बेला गाउँमा चलेको महामारीका कारण आमासँगै उनी भारतको डुअर्सको चियाबगान पुगेका थिए, जहाँ उनले जीवनका ३१ वर्ष बिताए ।

आमाको अवस्था पनि कमजोर हुँदै गएपछि कम उमेरमै उनले पारिवारिक दायित्व सम्हाल्नु परेको थियो ।

पारिवारिक अवस्था जे जस्तो भए पनि उनले संगीतप्रतिको लगावलाई कम हुन दिएनन् । फलस्वरुप उनले ‘संगीत प्रभाकर’ सम्मको उनले अध्ययन गरे।

वि.सं.२०३० सालपछि भने उनको सांगीतिक जीवनले नयाँ गति लिएको थियो । २०३० सालमा काठमाडौंमा भएको अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगितामा उनले गाएको ‘होसियार यसबखत समयको मुखलाई चिन’ प्रथम हुँदै स्वर्ण पदक प्राप्त गरेका थिए । उक्त गीतका संगीतकार तथा रचनाकार अम्बर गुरुङले पनि स्वर्ण पदक प्राप्त गरेका थिए ।

उक्त प्रतियोगितामा प्रथम भएपछि आचार्य रेडियो नेपालका जागिरे भएका थिए । त्यसयता २०४६ साल सम्ममा उनले साढे चार सयभन्दा बढी गीत रेकर्ड गराइसकेका थिए ।

आचार्यका अधिकांश गीतहरुमा उनी आफैंले शब्द रचना गरेका छन् । आचार्यले भजनसहित आधुनिक, गजल, राष्ट्रिय, बालगीत लगायत विभिन्न शैलीका गीत गाएका छन् ।

विसं २०४६ सालको एक साँझ बौद्धमा सांघातिक हमला भएपछि भक्तराजका टाउकामा झन्डै सयभन्दा बढी टाँका मार्नु परेको थियो । त्यसयता लगभग उनको गायन यात्रामा विराम लाग्न पुग्यो ।

उनका दुई सुपुत्र सत्यराज आचार्य तथा स्वरूपराज आचार्य नेपाली सांगीतिक क्षेत्रका दुई नक्षत्रको रुपमा रहेका छन् ।

Published Date: 26 February 2024


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी