एसीसी महिला प्रिमियर कप सेमिफाइनलमा नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

एसीसी महिला प्रिमियर कप सेमिफाइनलमा नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य : Icon Khabar

काठमाडौँ, फागुन ४ । एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियासामु १ सय १६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १५ रन जोड्यो । नेपालले यो खेल जितेर प्रिमियर कपको फाइनलमा पुगेसँगै महिला एसिया कपमा पनि स्थान बनाउनेछ ।

नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रनको योगदान दिइन् । ओपनर कविता कुँवरले २३ तथा रुविना क्षेत्रीले २० रन जोडिन् । डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको योगदान दिइन् ।

चौथो ओभरमा सीता रानामगर आउट हुँदा नेपाल १०-१ को स्थितिमा थियो । त्यसपछि इन्दु र कविताले ३५ रनको साझेदारी गरे । रन लिने क्रममा समन्वय नहुँदा कविता रनआउट भएकी थिइन् ।

त्यसपछि रुविना र इन्दुले तेस्रो विकेटका लागि ३१ बलमा ३३ रन जोडे । रुविना २ चौका प्रहार गर्दै क्याच आउट भइन् । इन्दु १८ औं ओभरमा ठूलो सट खेल्ने धुनमा स्टम्प्ड आउट भएकी थिइन् ।

नेपालले पछिल्लो खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ । स्पिनर संगीता राई र उपकप्तान विन्दु रावल टोलीमा आएका छन् । अश्मिना कर्माचार्य र पुजा महतोलाई बाहिर राखिएको छ ।

नेपालको प्लेइङ ११:

कविता कुँवर, सिता रानामगर, इन्दु वर्मा, रुविना क्षेत्री, अप्सरी बेगम, डली भट्ट, कविता जोशी, काजल श्रेष्ठ, विन्दु रावल, रोमा थापा, संगीता राई

Published Date: 16 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास