पोषण र स्वास्थ्य : धनमान श्रेष्ठ

पोषण र स्वास्थ्य : धनमान श्रेष्ठ : Icon Khabar

काठमाडौँ, माघ ९। तपाईं, हामी, सबै सधै खान्छौं । तर के, कति, कहिले, कस्तो खान्छौ भन्ने कुरा सामाजिक, आर्थिक र भौगोलिक स्थितिमा धेरै हदसम्म निर्भर गर्दछ हुने खानेले मिठो र जिन्सी खाना खान्छन् भने हुँदा खानेले रुखा सुखा भए पनि खान्छन् । तर जे जस्तो खाना खाइए पनि स्वास्थ्यमा दूरगामी प्रभाव पर्ने भएकोले स्वास्थ्य के हो ? यस बारे उल्लेख गर्नु सान्दर्भिक नै होला । विश्व स्वास्थ्य संगठनले परिभाषित गरे अनुसार ”Health is defined as a state of complete physical, mental and social well being and not merely the absence of disease or infirmity”. शारीरिक, मानसिक र सामाजिक रुपले स्वस्थ हुनुको साथै अशक्त र विना रोगको जीवन जिउन पोषणको धेरै भूमिका हुन्छ । त्यसैले भन्ने गरिएको छ- “रोगको बाबु जो कोही भए पनि आमा पोषण हो ।”

गरिब र खान नपाउनेलाई क्षयरोग बढी लाग्ने गरेको, खानपिनमा ध्यान नदिनेलाई क्यान्सर रोग लाग्ने बढी सम्भावना भएको, दूषित खाना र पानीले हैजा, विषमज्वर, आउँ आदि रोग फैलिने गरेकाले पनि यसको पुष्टि हुन्छ ।

पोषण के हो ?

पोषण भनेको खाने कुरा र तिनीहरूको शरीरमा हुने विभिन्न प्रयोग र क्रियाकलाप र प्रक्रियालाई पोषण भनिन्छ पोषणले शरीर स्वस्थ राख्न, वृद्धि गराउन, बिग्रिएका तन्तु (Tissue) मर्मत गर्न र शारीरिक क्रियाकलाप कायम गर्न सक्ने हुनुपर्दछ । शरीरको तापक्रम सन्तुलन गरी राख्ने पानी पनि पोषणको रुपमा लिइएको छ ।

यी माथिका अवस्था कायम गर्न, शारीरिक वृद्धिविकास, मानसिक विकास र शरीरको प्रतिरक्षात्मक शक्ति बढाउनको निम्ति बृहतपोषणतत्व (Macro nutrient ) हरूको मिश्रित खानाहरू खानुपर्दछ । जसलाई सन्तुलित खाना (Balanced Diet) भनिन्छ । बृहत् पोषणतत्व भन्नाले शक्ति दिने र शरीरवृद्धि गर्ने विभिन्न अन्न, कन्दमूल, घिउ, तेल, बोसो, चिनी, सख्खर आदि र गेडागुडी, माछा, मासु, दूध, दही, तील, बदाम आदिलाई सम्झनुपर्दछ । सुक्ष्म पोषणतत्व (Micro nutrients) भित्र शरीरलाई रोगबाट बचाउने विभिन्न खाने भिटामिन र खनिज पदार्थ युक्त हरियो सागपातहरू, टुसा उम्रेको गेडागुडीहरू, फलफूलहरू, फुल (अण्डा) दूध, दही आदि सम्झनुपर्दछ ।

मानिसहरूले खाने गरेको खानामा यी तत्वहरूमध्ये एक वा धेरै तत्वहरू कमी हुन गएमा कुपोषण हुन्छ कुपोषणलाई चिकित्साशास्त्रको भाषामा (Clinically) अपर्याप्त मात्राको प्रोटिन / इनर्जी र सूक्ष्म पोषणतत्वको कमीको परिणाम भनिन्छ पटक पटक संक्रमण हुने र अन्य रोगहरूको कारणबाट पनि कुपोषण हुन सक्छ ।

कुपोषण खान नपाएकालाई मात्र होइन, खान पाएकालाई पनि हुन्छ धेरै खाएर शरीर मोटा घाटा भएको अवस्थालाई पनि कुपोषण भनिन्छ शरीरको उचाई अनुसार चाहिने तौलभन्दा दश प्रतिशत या त्यो भन्दा बढी भयो भने यस्तो व्यक्तिलाई कुपोषित भनिन्छ खान नपाएर हुने कुपोषणको परिणाम जीवनको शुरु अर्थात् शैशव कालदेखि देखिन्छ भने धेरै खाएर सिर्जित भएको कुपोषणको परिणाम कालान्तरमा मात्र भोगिन्छ। बढी तौल (Obesity) को कारण विभिन्न प्रकारको रोग लाग्ने र असमय मै मृत्यु हुने सम्भावना हुन्छ उत्तर अमेरिकी बीमा कम्पनीको भनाई अनुसार शरीरको निम्ति चाहिने भन्दा बीस प्रतिशत बढी भएको ४५ वर्ष उमेरको पुरुषको आयु उत्तिकै उमेरको तर ठीक तौल भएको व्यक्तिभन्दा चार वर्ष छोटो हुने गरिएको छ ।

शारीरिक र मानसिक वृद्धि विकास

मानिसको शारीरिक र मानसिक विकास ठिक ढङ्गले गराउन मानिस जन्मिएपछि मात्र पोषणको पर्ने होइन । ऊ जन्मिन अघि आमाको गर्भमा भ्रूण अवस्थामा रहँदादेखि नै उसलाई पोषिलो खानाको आवश्यकता पर्दछ । यो खाना उसले आमाको साल (Placenta) मार्फत् प्राप्त गर्छ । त्यसैले गर्भवती महिलाले अरु बेलाभन्दा बढी खानु पर्दछ । बढी खाना भन्नाले क्यालोरीको हिसाबले एक दिनमा ३०० किलो क्यालोरी बराबरको बढी खाना खानु पर्दछ । सजिलो र सबैले बुझिने भाषामा भन्ने हो भने यस्तो अवस्थामा अरु बेलाभन्दा दाल, भात र सागपातको तरकारी मिश्रित सात, आठ गाँस बढी खान पर्दछ ।

यसरी खान पाएकी र सुस्वस्थ आमाबाट जन्मिएको शिशुको जन्मदाको तौल कमसेकम दुई किलो पाँच सय ग्राम हुन्छ । तर कुपोषित र दीर्घरोगी आमाबाट जन्मिएको शिशुको तौल २ किलोभन्दा कम हुनसक्छ यति मात्र होइन, मरेको बच्चा जन्मिन र गर्भ तुहिन पनि सक्छ । त्यस्तै कुपोषित आमालाई लामो समयसम्म सुत्केरी व्यथा लाग्नुको साथै बढी रक्तश्राव भएर मृत्यु पनि हुनसक्छ ।

सुपोषित र निरोगीआमाबाट जन्मिएको शिशुको तौल आवश्यकता अनुसार कमसेकम दुई किलो पाँचसय ग्रामको हुन्छ र सुस्वासथ्य पनि हुन्छ । शिशुले उपयुक्त पोषिलो खाना खान पाएमा ६ महिनाको उमेरमा जन्मँदाको भन्दा दोब्बर र १ वर्षको उमेरमा तेब्बर अर्थात् ७ किलो पाँच सय ग्राम हुनुपर्दछ ।

यसरी शारीरिक वृद्धि विकास गर्नको निम्ति ६ महिनाको उमेरसम्म बच्चाले पुग्दो मात्रामा आमाको दूध खान पाउनु पर्दछ बच्चाहरूको शुरुको खाना भन्नु नै आमाको पहेँलो बिगौती दूध हो र त्यसपछि पनि आमाको दूध नै हो । बिगौती दूध र दूधमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक तत्वहरू हुन्छ । त्यसैले आमाको दूध शिशुको लागि पहिलो खोप पनि भनिन्छ ।

शिशु जन्मिएको दुई, चार घण्टापछि स्तन चुसाउने गरिए तापनि दूध नआउन सक्छ । दूध नपग्लिएता पनि दूध चुसाई राख्नुपर्दछ । जति दूध चुसाउने बानी गरिन्छ छिटो दूध आउने सम्भावना बढी हुन्छ । पाकिस्तानी बालरोग विशेषज्ञ डा. मुस्ताक खानका अनुसार शिशु जन्मिएको दोस्रो दिनमा आमाको स्तनमा १०० सी.सी. (करिब एक चौथाई) दूध उत्पादन हुन्छ । यो मात्रा क्रमैसँग बढेर दोस्रो हप्तामा ५०० सी.सी., पहिलो महिनामा ६०० सी.सी. र तेस्रो महिनामा ८०० सी. सी. दूध उत्पादन हुन्छ । माथि उल्लेख भएअनुसार सुत्करी आमा र दूध ख्वाउने आमाको स्तनमा दूध उत्पादन भएमा शिशुल मनग्गे दूध खान पाउँछ र स्वस्थ हुन्छ । उसको शारीरिक र मानसिक वृद्धि विकास पनि अपेक्षित रुपले हुन्छ । बच्चाले पुग्दो मात्रामा आमाको दूध खान पाएमा उसले २४ घटामा ६-८ पटकसम्म पिसाब गर्दछ र पिसाबको रङ्ग सफा हुन्छ । तर २४ घण्टामा ६ पटक भन्दा कम पिसाब गर्दछ र पिसाबको रङ्ग गाढा, पहेलो, बाक्लो, छ भने त्यो शिशुलाई आमाको दूध पुगेको छैन भनेर थाहा पाए हुन्छ ।

व्यवहारमा हामी दूध पुगेन भनेर ६ महिना अगाडि नै बच्चालाई खाना ख्वाउन थाल्छौं के कारणले दूध उत्पादन कम भयो भनेर यसको खोजी गर्नुको सट्टा सजिलो उपायको अनुकरण गछौं । जसले शिशुलाई संक्रमण हुन गई कुपोषण हुने सम्भावना बढाउँछ केही आमाहरूले ६ महिना पूरा भएपछि पनि शिशुलाई स्तनपान मात्र गराउँछ । जसले गर्दा शारीरिक र मानसिक विकासमा अवरोध हुनुको साथै कुपोषण हुन्छ ६ महिना नाघेपछि बच्चालाई आमाको दूधले मात्रै पूग्दैन त्यसैले ७ महिनादेखि २ वर्षसम्मको बच्चालाई निम्न अनुसारको खाना दिनुपर्दछ ।

उमेर खानाको किसिम / प्रकार

७-१२ महिना सम्मको बच्चालाई नियमित स्तनपान बाहेक नरम खीर, राम्ररी मिचेको तरकारी, मासु, फलफूल २, ३ पटक दिने ,

१३-२४ महिना सम्मको बच्चालाई आमाको स्तनपान बाहेक परिवारको खाना आवश्यकता अनुसार मिचेर वा स-साना टुक्रा पारेर दिनमा ३ पटक दिने ।

आमाको शरीरमा दूध उत्पादन हुन उपयुक्त पोषिलो खाना ख्वाउनु पर्दछ । त्यस्तै मनग्गे दूध खान पिउन पाउने शिशुको शरीरले पनि खाएको पिएको दूधलाई राम्रोसँग उपभोग गर्न सक्नु पर्दछ अनि मात्र तत्काल र दीर्घकालसम्म विश्व स्वास्थ्य संगठनले परिभाषित गरेको स्वास्थ्य लिएर जिउन पाउँछ ।

सुत्केरी भएपछि आमाको स्वास्थ्य तग्रियोस् र बच्चाले पनि प्रशस्त दूध खान पिउन पाओस् भनेर आमालाई धेरै ख्वाउने चलन सर्वव्यापी छ । डाक्टरी भाषामा भन्ने हो भने यसको परिमाण सातसय किलो क्यालोरी (१८, २० गॉस) एकदिनमा बढी ख्वाउनु पर्दछ । हाम्रो देशमा सुत्केरी आमालाई अरु बेलाको भन्दा एक आहार (छाक) बढ़ी ख्वाउने चलन छ । तागतिलो र पोषिलो भनेर घिउ, चाकु र बरोबर मासु राखेर दुई, तीन महिनासम्म तीन छाक ख्वाउने चलन नराम्रो होइन । तर त्यसमा खनिज पदार्थ र विभिन्न प्रकारको भिटामिन परिपूर्ति गर्ने हरियो सागपात, फलफूल समावेश गरिए अझ बढी उपयुक्त हुन्छ । सजिलैसँग भन्ने गरिएको हामी बरोबर सुन्छौं- “उपयुक्त मात्रामा

पोषण हरेक मानिसको आधारभूत हक हो ।” यो हक भनाइ र लेखाइमा मात्र सीमित छ । यदि त्यस्तो नभएको भए नेपालमा प्रोटिन / शक्ति कमीले कुपोषण, आयोडिनको कमीले हुने विकृति, भिटामिन “ए” को कमी र आइरनको कमीले हुने रक्त अल्पताका कुपोषितहरू नदेखिनुपर्ने हो । विभिन्न कुपोषणहरूले जनताको स्वास्थ्यलाई मात्र असर पार्दैन, यसले देशकै गुणस्तरीय जीवन र सामाजिक आर्थिक विकासमा पनि असर पार्दछ । त्यसैले यसको निराकरण हुनै पर्दछ ।

लेखक
धनमान श्रेष्ठ
पूर्व वरिष्ठ जनस्वास्थ्य अधिकृत (उपसचिव)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 January 2023
धनमान श्रेष्ठ
+ posts