राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि आज मतदान

राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि आज मतदान : Icon Khabar

काठमाडौं, माघ ११ । राष्ट्रियसभा सदस्य निर्वाचन आज (बिहीबार) हुँदैछ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदका लागि आज हुन लागेको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष हुन् ।

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता छन् । मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुई दुई वटा मतदान केन्द्र स्थापना गरिएको छ । प्रदेशसभा सदस्यका लागि एउटा र पालिका प्रमुख उपप्रमुखका लागि एउटा गरी हरेक प्रदेशमा दुई दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको जनाइएको छ ।

सातै प्रदेशमा हुने निर्वाचनका लागि ६३ जना कर्मचारी खटाइएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा निर्वाचनको कार्यालय स्थापना भएको छ । जिल्ला न्यायाधीशको नेतृत्वमा सबै निर्वाचन केन्द्रमा ९–९ जना कर्मचारीको व्यवस्था गरिएको छ । निर्वाचन हुने कलस्टर अनुसार कम्तीमा ७ र बढीमा १० जना कर्मचारी एउटा मतदान केन्द्रमा रहने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलको भनाइ छ । आज बेलुका ७ बजेसम्म मत परिणाम आइसक्ने निर्वाचन आयोगको अपेक्षा छ ।
‘एक– डेढ घण्टा कागजपत्र, मुचुल्का लगायतको औपचारिकता पुरा गरिन्छ । राजनीति दल र उम्मेदवारका प्रतिनिधि बसेर केही छलफल गर्ने काम गर्छन् । त्यसपछि मतगणना सुरु हुन्छ । आज बेलुका ६ ७ बजेसम्ममा नजिता आइसक्ने आयोगको अपेक्षा छ,’ उनले भने ।

पौडेलका अनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र पालिका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ । निर्वाचन आयोगका अनुसार सातै प्रदेशबाट ५ सय ४९ प्रदेशसभा सदस्य र १४ सय ९८ पालिका प्रमुख उपप्रमुखले भोलि राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न पाउने छन् । ५५० जना प्रदेशसभा सदस्य मध्ये एक जनाको निधन भएको छ ।

यस्तै १५०६ जना पालिका प्रमुख उपप्रमुख मध्ये ४ जनाको निधन र ४ जना निलम्बनमा परेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ ।

४ हजार २९ जना सुरक्षाकर्मी मैदानमा
नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालका अनुसार राष्ट्रियसभा निर्वाचनको सुरक्षाका लागि जम्मा ४ हजार २९ जना प्रहरी मैदानमा खटाइएको छ । सबैभन्दा बढी मधेस प्रदेशमा र सबैभन्दा कम लुम्बिनी प्रदेशमा सुरक्षाकर्मी खटाइएको पाइन्छ ।
कोशी प्रदेशमा ३ सय ८, मधेस प्रदेशमा २ हजार ८ सय ७३, बागमती प्रदेशमा २ सय ७३, गण्डकी प्रदेशमा १ सय ५४, लुम्बिनी १ सय १८, कर्णाली प्रदेशमा १ सय २८ र सुदूरपश्चिम प्रदेशमा १ सय ६८ जना सुरक्षाकर्मी खटाइएको छ । केन्द्रमा एक सय जना सुरक्षाकर्मी तैनाथ अवस्थामा राखिएको प्रवक्ता ढकालले रातोपाटीलाई बताए ।

५० जना चुनावी प्रतिस्पर्धात्मक मैदानमा

राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशबाट ५० जना चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् । गठबन्धनसँग मुकाबिला गर्न नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चुनावी तालमेल भएको छ ।

सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग एमालेकी रुक्मिणी कोइराला भिड्दै छन् । यस्तै मधेस प्रदेशमा राष्ट्रियसभाका २ सिटका लागि ५ जना चुनावी मैदानमा छन् । गठबन्धनबाट अन्यतर्फ कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जसपाकी पूजा चौधरी उम्मेदवार छन् ।

गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरीविरुद्ध एमालेले अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनी मैदानमा पठाएको छ । यता सत्ता गठबन्धनमा रहेका जनमत पार्टीले पनि अन्यतर्फ रामशंकर महासेठ प्रतिस्पर्धामा उतारेको छ । मधेस प्रदेशको अन्यतर्फ ढुंगाना, झा र महासेठबिच भिडन्त हुने छ भने महिलातर्फ चौधरी र थारुनीबिच प्रतिस्पर्धा हुनेछ ।

यस्तै बागमती प्रदेशमाका ४ सिटका लागि १५ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपांङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल भिड्दै छन् ।

एमालेले महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपांङ्गतातर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटालाई चुनावी मैदानमा खडा गरेको छ । यता राप्रपाबाट बागमती प्रदेशमा अन्यतर्फ हेम्जङम गुरुङ, महिलातर्फ बालिका डल्लाकोटी र अपाङगतर्फ भरतमणि भट्टको उम्मेदवारी छ भने नेमकिपाले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ संगिता नेपाली, अपांङ्गतातर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ ।

अन्यतर्फ बस्नेत, देवकोटा, गुरुङ महर्जनबिच प्रतिस्पर्धा हुने छ भने महिलातर्फ पुडासैनी, चौलागाईं, डल्लाकोटी र दुवालबिच भिडन्त हुने छ । यस्तै दलिततर्फ रिजाल, विक र नेपालीबिच प्रतिस्पर्धा पक्का भएको हो भने अपाङगतर्फ अधिकारी, पौडेल, भट्ट र मूल भिड्ने छन् ।

गण्डकी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गतातर्फ पदम परियार चुनावी प्रतिस्पर्धामा छन् भने महिलातर्फ माओवादीकी मनरुपा शर्मा सुवेदीले मैदानमा पठाएको छ । एमालेबाट महिलातर्फ सम्झना देवकोटा, अन्यतर्फ चक्रबहादुर पराजुली र अपाङ्गतर्फ हेमन्त शेरचना चुनावी मैदानमा छन् भने राप्रपाले पनि अन्यतर्फ रोमबहादुर भण्डारी र महिलातर्फ गोममाया श्रेष्ठलाई अगाडि सारेको छ । अन्यतर्फ श्रेष्ठ, पराजुली र भण्डारीको प्रतिस्पर्धा हुने छ भने महिलातर्फ सुवेदी, देवकोटा र श्रेष्ठ भिड्ने छन् । अपाङगतर्फ परियार र शेरचनाबिच प्रतिस्पर्धा हुने छ ।

लुम्बिनी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ माओवादीका झक्कु सुवेदी र महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा चुनावी प्रतिस्पर्धामा छन् । एमालेका उम्मेदवारबाट महिलातर्फ तुलसा कुमारी केसी र अन्यतर्फ झपेन्द्रबहादुर घर्ती क्षेत्रीको उम्मेदवारी परेको छ । राप्रपाले महिलातर्फ विजयलक्ष्मी सिंहलाई मैदानमा पठाउँदा जनमत पार्टीबाट बालगोविन्द चौधरी पनि प्रतिस्पर्धामा छन् ।

अन्यतर्फ सुवेदी, घर्ती, थापा र चौधरी गरी चार जना भिड्दैछन् भने महिलातर्फ सापकोटा, सिंह र केसीबिच प्रतिस्पर्धा हुने छ । यस्तै कर्णाली प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, दलीततर्फ माओवादीका विष्णुबहादुर विश्वकर्मा र महिलातर्फ एकीकृत समाजवादीका सावित्री मल्ल चुनावी मैदानमा छन् । यता एमालेबाट महिलातर्फ विमलाकुमारी शाही, अन्यतर्फ डिल्लीप्रसाद भट्ट र दलिततर्फ हिक्मत विक उम्मेदवार छन् । अन्यतर्फ रोकाय र भट्टको प्रतिस्पर्धा हुने छ भने दलीतर्फ विश्वकर्मा र विकबिच भिडन्त हुने छ । महिलातर्फ मल्ल र शाही भिड्ने छन् ।

सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका बलदेव बोहोरा र अपाङ्गतर्फ नारायणदत्त भट्ट उम्मेदवार छन् भने महिलातर्फ माओवादीकी रेणु चन्द चुनावी मैदानमा छन् । यस्तै एमालेबाट महिलातर्फ सावित्रा घिमिरे, अपाङ्गतातर्फ रामचन्द्र जोशी र अन्यतर्फ ईश्वरीप्रसाद खरेलले उम्मेदवार छन् । अन्यतर्फ बोहोरा र खरेल भिड्दा महिलातर्फ चन्द र घिमिरेबिच प्रतिस्पर्धा हुने छ । यस्तै अपाङ्गतर्फ भट्ट र जोशी भिड्ने छन् । भोलि हुने निर्वाचनमा ५० जना उम्मेदवारको भाग्य परीक्षा २ हजार ४७ मतदाताको हातमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 January 2024




ताजा
सोल्टी होटल्सले सञ्चालनमा ल्यायो मनकामना मन्दिर नजिक लक्जरी रिसोर्ट
के दैनिक एलोभेरा जुस पिउनु सुरक्षित छ?
समस्याग्रस्त सहकारीका १३ हजार ऋणीको चलअचल सम्पत्ति रोक्का
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न