सरकार विरुद्ध आक्रामक बन्दै ओली

सरकार विरुद्ध आक्रामक बन्दै ओली : Icon Khabar

काठमाडौँ, माघ ७ । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनसँग भाग खोजेको नेकपा एमाले पछिल्लो समय सरकार विरुद्ध आक्रामक बन्दै गएको छ। तत्काल सत्ता गठबन्धन तलमाथि नहुने संकेत पाएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकार विरुद्ध आन्दोलन थाल्ने तयारीसमेत गरेको छ।

आफूले नै प्रधानमन्त्री बनाएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पछिल्लो केही समयदेखि नरम देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले भने सरकारप्रति आक्रामक हुनथालेका छन्।

गत बिहीबार ओलीले सरकारलाई ‘बुख्याचा’को संज्ञा मात्रै दिएनन, सरकार विरुद्ध आन्दोलनमा जानुपर्नेसमेत बताए। राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयनअघि उनले सरकारसँगै भागबण्डा प्रयास गरेका थिए।

राष्ट्रियसभा निर्वाचनमा आफूहरूलाई शून्य नबनाइदिन उनले प्रधानमन्त्री दाहालसँग आग्रह गरेका थिए। तर, सत्ता गठबन्धनमा कुरा नमिलेपछि एमालेसँग सहकार्य हुन सकेन।

एमालेले सरकारका पछिल्ला विवादास्पद क्रियाकलापबारे खासै जमेर अडान नलिएको, बरु राष्ट्रियसभा चुनावमा सिट साझेदारीकै तहसम्म सम्झौता गर्न अग्रसर भएको भन्दै आलोचना भएको थियो।

त्यसपछि पनि उनले सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिएका थिएनन्। ओलीले अहिले देश बर्बाद हुँदै गएको टिप्पणी  गर्न थालेका छन्। वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरूको संरक्षणमा लागेको उनले आरोप छ। अहिलेको सत्ता गठबन्धनका नेताहरू भ्रष्टाचारी कमिसन तन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको उनको भनाइ छ।

यस्तै अवस्था रहिरहे ‘मिसन २०८४’ पर्खिन नसक्ने भन्दै ओलीले सरकार विरुद्ध आन्दोलनमा जान सक्ने चेतावनी दिएका छन्। ओलीले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गरेका थिए।

गत बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले भनेका थिए, ‘यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउनसक्छ। देश बर्बाद हुन लाग्यो भने कहाँ ०८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ।’

उनले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको यो पहिलोपटक भने होइन । बुधबार पनि यस्तै आशयको चेतावनी दिएका थिए। बुधबार पार्टीका नयाँ केन्द्रीय सदस्यहरूलाई निर्देशन दिँंदै ओलीले सरकारको अक्षमता प्रमाणित भइसकेकाले यसलाई हटाउन आन्दोलन चाहिएको बताएका थिए।

विगतदेखि नै ओलीमाथि गणतन्त्र र संघीयता विरोधको आरोप लाग्दै आएको छ। तर पछिल्लो समय ओली गणतन्त्र र संघीयतको पक्षमा खरो रुपमा प्रस्तुत हुन थालेका छन्।

दुर्गा प्रसाईंको व्यवस्था विरुद्धको आन्दोलनमा सरकार रक्षात्मक हुँदा ओलीले भातृ संगठन युवासँगलाई सडकमा उतारेर प्रसाईंको आन्दोलनको प्रतिकार गर्न लगाएका थिए।

अहिले संघीयता र गणतन्त्रको असली रक्षक एमालेलाई प्रस्तुत गर्न थालेका ओलीले सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएपछि सो विषयमा विस्तृतमा भने बताएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 January 2024
Website | + posts