प्रधानमन्त्री दाहाल भोलि युगान्डा जाने

प्रधानमन्त्री दाहाल भोलि युगान्डा जाने : Icon Khabar

काठमाडौँ, माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (माघ ४ गते) युगान्डा गणतन्त्र प्रस्थान गर्दै छन् । उनी बिहान २ः१५ बजे कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरु रहने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई माघ ५ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्नुहुने राजकीय भोजमा सहभागी हुनुछन्।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। । यसअघि आज र भोलि बस्ने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेका छन्। मन्त्रीस्तरिय बैठक अघि माघ १ र २ गते वरिष्ठ अधिकारीहरूको बैठक बसेको थियो ।

शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौँं आइपुग्नेछन्।

१९औँ नाम शिखर सम्मेलनपछि तेस्रो दक्षिण शिखर सम्मेलन माघ ७ देखि ८ गतेसम्म कम्पालामा हुँदैछ । दक्षिण शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव लम्सालले गर्नेछन् । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 January 2024
Website | + posts




ताजा
पोखराबाट देखिएको मनमोहक माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला ( फोटो फिचर )
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
आज सबै जिल्लामा विरोध प्रदर्शन गर्दै एमाले, केन्द्रीय नेताहरूले सम्बोधन गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )