मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक

मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक : Icon Khabar

गोरखा, पुस १८ । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन् । एक वर्षको अवधिमा यस वर्ष नौ हजार एक सय ६६ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

“यस वर्ष अहिलेसम्मकै सर्वाधिक विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा आइपुगे”, उनले भने, “पछिल्लो समय यस क्षेत्र पर्यटकको अत्यधिक रोजाइमा पर्न थालेको छ ।” सन् २०२२ मा यस क्षेत्रमा छ हजार एक सय दुई विदेशी पर्यटकले भ्रमण गरेका थिए ।

यसअघि सन् २०१९ मा सात हजार पाँच सय ५५ जनाले, सन् २०१८ मा सात हजार छ सय ५४ जनाले भ्रमण गरेकामा कोरोना सङ्क्रमणका कारण सन् २०२० मा तीन सय ३७ र सन् २०२१ मा नौ सय २५ जनाले मात्र मनास्लु क्षेत्र भ्रमण गरेको कार्यालय प्रमुख शेरचनले जानकारी दिए । विश्वमाझ चर्चा कमाउँदै गएको यस क्षेत्रमा सन् २०२४ मा १२ हजार विदेशी पर्यटकले घुम्न आउने अनुमान गरिएको उनको भनाइ थियो ।

पदयात्रा गर्ने पर्यटकले चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित शृङ्गी हिमाल, राजेन र मु गुम्बा अवलोकन गर्न पाउनेछन् भने नुब्री भ्यालीतर्फ कल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनास्लु हिमाल तथा वीरेन्द्र ताल अवलोकन गर्दै लार्के पास गरेर मनाङ पुग्न सक्छन् । त्यस्तै चुम भ्याली शृङ्गी हिमाल, भर्जिन हिमाल अवलोकनका साथै योगाभ्यासका लागि पनि विदेशी पर्यटक आउने गन्तव्य बन्दै गएको छ । यी दुवै क्षेत्रमा हिमचितुवाका साथै नाउर, घोरल, डाँफे, मुनाल र चौँरीसँगको सामिप्यतामा पर्यटक रमाउन पाउँछन् । मनास्लु क्षेत्र प्राकृतिक हिसाबले मनोरम र सामरिक हिसाबले पनि विशेष महत्वको क्षेत्र भएकाले पनि विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

विदेशी पर्यटकले यो क्षेत्रको भ्रमणका लागि प्रतिव्यक्ति रु एक हजार शुल्क तिर्नुपर्छ । निषेधित क्षेत्रको रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि पर्यटकका लागि खुला गरेको थियो ।

Published Date: 03 January 2024


ताजा
आजको मौसम:हिमाली र पहाडी क्षेत्रमा वर्षा–हिमपातको सम्भावना, सतर्क रहन आग्रह
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
इरानमाथि १०० पटक थप आक्रमण गर्न पनि पछि हट्दिनः ट्रम्प
सर्वोच्चद्वारा वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली