बालकुमारी घटनामा चार बुँदे सहमति : पीडित परिवारले शव बुझ्ने, सरकारले शहीद घोषणा गर्ने

बालकुमारी घटनामा चार बुँदे सहमति : पीडित परिवारले शव बुझ्ने, सरकारले शहीद घोषणा गर्ने : Icon Khabar

काठमाडौं, पुस १६ । ललितपुरको बालकुमारी क्षेत्रमा शुक्रबार प्रहरीसँगको झडपमा ज्यान गुमाएका दुई जना युवाका परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ ।

शुक्रबार ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषय भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतका परिवार र सरकारबीच चार बुँदे सहमति भएको हो । सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारका प्रतिनिधिबीचको वार्तापछि उक्त चार बुँदे सहमतिमा हस्ताक्षर भएको हो । सहमतिअनुसार सरकारले मृतक दुवै युवाका परिवारसँगको सल्लाहमा १÷१ जनालाई उपयुक्त रोजगारी यथाशिघ्र उपलब्ध गराउने भएको छ ।

त्यस्तै सरकारले घोषणा गरेको जनही १०/१० लाख रुपैयाँ राहत पनि यथाशिघ्र उपलब्ध गराउने प्रतिबद्धता सरकारले गरेको छ । सहमतिअनुसार मृतक वीरेन्द्र र सुजनलाई शहीद घोषणा गर्न आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने भएको छ ।

सहमतिपछि मृतकका परिवारले सोमबार नै शव बुझिलिने भएका छन् । मृतकहरूको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने व्यवस्था गृह मन्त्रालयले गरिदिने भएको छ । यस्तै दुई युवाको ज्यान गएको घटना छानबिनका लागि सोमबारको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको छ । सरकारले यसअघि नै मृतकका परिवारका सदस्यलाई प्रतिपरिवार १० रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

यस्तो छ सहमति
१. मृतकका परिवारलाई परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने ।

२. सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने ।

३. मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने ।

४. मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 January 2024
Website | + posts