ऐतिहासिक महत्व बोकेको मणिचुड दह (फोटो फिचर)

ऐतिहासिक महत्व बोकेको मणिचुड दह  (फोटो फिचर) : Icon Khabar

काठमाडौं, पुस १६ । मणिचुड दह कमण्डलु आकारको छ। मणिचुड राजाले राज्य चलाएको स्थान भएकाले यस ठाउँको नाउँ मणिचुड रहन गएको हो। मणिचुडमा जनै पूर्णिमाका दिन मेला लाग्छ।

मणिचुडलाई पौराणिक भाषामा मृगेन्द्र पर्वत भनिन्छ । शंखचुर अर्थात शिवपुरी डाँडा पनि भनिन्छ । यसको पूर्वमा लप्सीफेदी, नाङलेभारे र गन्थमादन पर्वत पर्छन । ६४ शिवलिंग मध्ये कागेश्वर, मणिचुडेश्वर, योगेश्वर र नारायणेश्वर यही डाँडामा पर्छ ।

दह भएको ठाउँमा बज्रयोगिनी खेल्न आउँथिन्। एक दिन खेल्दाखेल्दै उनको कमण्डलु खसेकाले त्यहाँ दह उत्पत्ति भयो। त्यसैले दह कमण्डलु आकारको भएको। पछि त्यहाँ स्तुप र मन्दिर बनाइयो।

मणिचुड जान साँखु पुग्नु पर्छ। साँखु काठमाडौं उपत्यकाको सबैभन्दा प्राचिन बस्ती हो। संस्कृतिविद् प्रकाशमान श्रेष्ठका अनुसार ३३१३ वर्ष अगाडि नै साँखुमा बस्ती बसेको थियो। त्यतिबेला बज्रयोगिनी मन्दिरका पुजारी जोगदेव बज्राचार्यले शंख आकारमा बस्ती बसालेका थिए। त्यही भएर साँखुलाई शंखरापुर पनि भनिन्छ।

साँखुबाट २ कि.मी मा बज्रयोगिनी मन्दिर छ। जंगल बीचमा ढुँगा ओच्छाइएको सिंढी चढेर मन्दिर पुगिन्छ। त्यहाँबाट साँखुको पुरा दृश्य देखिन्छ। १६ औं शताब्दीमा राजा प्रताप मल्लले बनाएको बज्रयोगिनी मन्दिर हिन्दु र बौद्ध धर्मावलम्वीको साझा तीर्थ हो।

बज्रयोगिनीलाई नेवारको इष्ट देवता समेत मानिन्छ। बज्रयोगिनी दर्शन गरी ठाडो उकालो चढ्दा आधा घन्टामा घुमारेचौर पुगिन्छ। घुमारे चौर तामाङहरुको बस्ती हो। बज्रयोगिनी, घुमारे चौर हुँदै करिब २ घन्टा ठाडो उकालो चढेपछि नार्गाजुन शिवपुरी राष्ट्रिय निकुृञ्ज कार्यालय पुुगिन्छ। त्यहाँ प्रबेश शुल्क तिरेपछि मात्र प्रबेश पाइन्छ। वनदेवी माध्यमिक विद्यालयबाट दुई बाटा छन्। सिधा गए सुन्दरीजल पुगिन्छ। दायाँ ठाडो उकालो चढे मणिचुड।

तीन घन्टा उकालो चढेपछि खुल्ला चौरमा पुगिन्छ। त्यहाँबाट ५ मिनेटमा मणिचुड पुगिन्छ। त्यहाँको चौरमा क्याम्पिङ गर्न निकुञ्जसँग अनुमति लिनु पर्छ। डाँडामा खाजा पसल छैनन्।

साइक्लिङका लागि समेत मणिचुड उपयुक्त छ। मणिचुडबाट धेरैतिर पदयात्रा गर्न सकिन्छ। पानी मुहान, गुर्जे भञ्ज्याङ, बिष्णुद्वार, बाघद्वार, नागी गुम्बा, शिबपुरी पिक, चिसापानी, भोटेचौर लगायत ठाउँ घुम्न सकिन्छ।

कसरी पुग्ने: काठमाडौं–साँखु १८ कि.मी गाडिमा एक घन्टा। साँखु–बज्रयोगिनी २ कि.मी। बज्रयोगिनी–मणिचुड ४ कि.मी। आउन र जान पदयात्रा दुरी १२ कि.मी। समय ५ घन्टा। रत्नपार्क र सातदोबाटोबाट चाबहिल, जोरपाटी हुँदै साँखुसम्म सार्वजनिक बस चल्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 January 2024
Website | + posts