एक पटकमा एक सय ५० जनासम्मलाई ‘क्रुजिङ’ को सेवा प्रदान गर्न सकिने भन्दै उनले म्युजिक भिडियो सुटिङ, फिल्म सुटिङ, फोटोसहितका विभिन्न सेवा पनि क्रुजसिीपबाट उपलब्ध गराइने जानकारी दिए । डिनर क्रुज तथा इभेन्ट क्रुजमा सेवाग्राहीको मागअनुसार सेवा सुविधा उपलब्ध गराइने जनाउँदै उनले नियमित क्रुजमा भने रेष्टुरेन्टको सुविधा रहेकाले यात्रुहरुले बजारकै मूल्यमा खाजा तथा पेयपदार्थ पाउने बताए ।
क्रुजसिप सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापक विक्रम बस्यालले क्रुजले हिउँदे ‘अफर’ जारी गर्दै केही समयका लागि यात्रुलाई क्रुजिङको शुल्कसमेत घटाएको बताए । उनकाअनुसार क्रुजमा यात्रा गर्नका लागि प्रतिव्यक्ति रु तीन सय ५० शुल्क निर्धारण गरिएको छ भने पाँचदेखि १० वर्षसम्मका बालबालिकाका लागि यो शुल्क रु दुई सय तोकिएको छ ।
दुई तला र एउटा तीन सय ६० डिग्री अवलोकन स्थल रहेको क्रुजको पहिलो तल्लामा कार्यक्रम गर्ने मञ्चसहितको ६० जना क्षमता रहेको बस्यालले बताए । उनका अनुसार क्रुजको दोस्रो तल्लामा ८० जना क्षमता तथा तीन सय ६० डिग्री अवलोकन स्थलमा १० जना अटाउने क्षमता रहेको छ ।
क्रुजसिप सञ्चालनका लागि कम्पनीले पवित्र धार्मिकस्थल देवघाटबाट गोलाघाटसम्मको अनुमति पाएको भए पनि अहिले एकतर्फी एक किलोमिटर मात्रै सञ्चालन हुँदै आएको छ । नारायणी नदीमा बग्ने पानीले गरेको धार परिवर्तनका कारण तथा नदीजन्य पदार्थ उत्खनन्का लागि क्रुजसिपले आफ्नो पूरा क्षमतामा यात्रा गराउन नसकेको कार्यकारी निर्देशक ढुङ्गेलले बताए ।
भरतपुर महानगरपालिका–१६ को काप्रेघाटमा स्टेशन रहेको क्रुजसिप सञ्चालनपछि नवलपुर र चितवनको पर्यटन प्रवर्द्धन हुँदै आएको होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले बताए । अहिले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष भनेर घोषणा गरिएको अवस्थामा पुनः सञ्चालनमा आएको क्रुजसिपले नवलपुरमा समेत पर्यटकलाई आकर्षण गर्न भूमिका खेल्ने उनको भनाइ छ । नारायणी नदीलाई एकै ठाउँबाट बग्ने वातावरण सिर्जना गरेर क्रुजसिपलाई देवघाटदेखि गोलाघाटसम्म नै सञ्चालन गराउने सकेमा नवलपुर, चितवन र तनहुँको धार्मिक तथा जल पर्यटनमा कायापलट हुने चुकेको भनाइ छ ।
नवलपुरको गैँडाकोटमा रहेको द नारायणी रिसोर्टका सञ्चालक वसन्त पराजुलीले क्रुजसिपका कारण नदी किनारका होटल व्यवसायमा पर्यटकको संख्यामा वृद्धि हुने बताए । ‘यसअघि क्रुज सञ्चालन हुँदा पनि क्रुजमा यात्रा गर्ने मानिस हाम्रा होटलमा आएर बस्ने गर्नुहुन्थ्यो’, उनले भने, ‘क्रुजसिप नारायणी नदीमा सञ्चालन हुने कारण यसले चितवनको मात्रै नभएर नवलपुरको पर्यटन प्रवर्द्धनमा समेत ठूलो सहयोग पुर्याएको हामीले पाएका छौँ ।’ रासस