इजरायलमा मृत्यु भएका चार विद्यार्थीको शव परिवारलाई बुझाइयो

इजरायलमा मृत्यु भएका चार विद्यार्थीको शव परिवारलाई बुझाइयो : Icon Khabar

काठमाडौं, कार्तिक ५ । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिमका चार जना विद्यार्थीको शव आइतबार साँझ धनगढी पुर्‍याएर परिवारलाई बुझाइएको छ ।

कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, कैलाली जोशीपुर–घ५ का आशिष चौधरी, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी र दार्चुलाकै लेकम–५ का दीपेशराज बिष्टको शव धनगढी ल्याइएको हो । नेपाली सेनाको स्काई भ्यानमार्फत धनगढी ल्याइएका ती शवहरू कैलाली जिल्ला प्रशासन कार्यालयले समन्वय गरी परिवारजनलाई हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

दार्चुलाका शवहरू सम्बन्धित स्थानीय तहको समन्वयमा शव वाहन व्यवस्थापन गरी पठाइएको छ भने कैलालीका शवलाई पनि त्यसै गरी पठाइएको हो । नेपालका लागि इजरायलका राजदूत समेत धनगढी पुगेर मृतकका आफन्तलाई भेटघाट गरेका छन् । परिवारजन धनगढी विमानस्थलमै पुगेका थिए ।

इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव आइतबार नेपाल ल्याइएको हो। फ्लाई दुबईको विमानमार्फत शव नेपाल ल्याइएको थियो। गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए। उनीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए।

उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, धनुषा सापही–६ का आनन्द शाह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी छन्। सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन छन्।

आक्रमणमा परी मृत्यु भएका बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ। केही दिनअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई नेपाल ल्याएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 October 2023
Website | + posts