हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी : Icon Khabar

काठमाडौँ, असोज १५ । चलचित्र खेल्न १० लाख रुपैयाँ अग्रिम भुक्तानी बुझेर काम नगरेको भन्ने उजुरीका आधारमा पक्राउ परेका अभिनेता अनमोल केसी थुनामुक्त भएका छन् ।

काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका उनलाई गए राति हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । उनले भने, ‘अभिभावकको जिम्मा लगाएर छाडेका छौँ । अनमोलको काका उज्ज्वल केसी आउनु भएको थियो ।’

चलचित्र रावायणका लागि बैना रकम लिएर काम नगरेको भन्दै अनमोल तीन दिन अगाडि पक्राउ परेका थिए । आजै जिल्ला अदालतले उनलाई हिरासतमा तीन दिन राख्न अनुमति दिएको थियो । सो तीन दिन पनि हिजो नै सकिएको छ । बोलाएको बेला उपस्थित हुने कागज गराएर अनमोललाई छाडिएको हो । उनी काभ्रेको साँगाबाट शुक्रबार साँझ पक्राउ परेका थिए ।

पक्राउ लगत्तै उनलाई सिंहदरबार प्रहरी वृत्तमा पुर्‍याइए पनि आफू अस्वस्थ भएको बताएपछि उनी महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना भएका थिए । उनीविरुद्ध निर्माता सुदर्शन थापाले १० लाख लिएर पनि फिल्म नखेलेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

टेकुमा उनले आफूलाई अफगानिस्तान गएर फिल्म सुटिङ गर्ने निर्माता पक्षले बताएको खुलाएका थिए । तर, चलचित्र ‘रावायण’ को स्क्रिप्ट नै मन नपरेपछि खेल्दिनँ भनेको अवस्थामा आफ्नो खातामा आएको पैसा पनि फिर्ता लैजान भन्दा निर्देशक–निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस तयार नभएको उनले बताएका थिए ।

अनमोलले आफ्नो खातामा आएको १० लाख फिर्ता दिन खोज्दा निर्माता पक्षले लैजान अस्वीकार गरेको अवस्थामा आफूविरुद्ध उल्टै अन्याय गरिएको बताएका थिए । उनले निर्माता पक्षले प्राविधिकसहितलाई भुक्तानी गरेको एक करोड ५ लाख रुपैयाँ समेत आफूबाट तिराउन खोज्नु अन्याय हुने पनि बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 October 2023
Website | + posts