लिच्छविकालीन वास्तुकलाको प्रतिक चाँगुनारायण मन्दिर (फोटो फिचर)

लिच्छविकालीन वास्तुकलाको प्रतिक चाँगुनारायण मन्दिर (फोटो फिचर) : Icon Khabar

भक्तपुर, असोज १३ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित नेपालको प्रसिद्ध तीर्थ स्थल तथा प्राचिन पुरातात्विक शिलास्तभसमेत रहेको चाँगुनारायण मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि यो लिच्छविकालीन वास्तुकलाको नमुना हो ।

चाँगुनारायण मन्दिर

चाँगुनारायण मन्दिर

काठमाडौं उपत्यकामा रहेको मन्दिरमा सबभन्दा पुरानो मानिने यो मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । चाँगुनारायणलाई चम्पकनारायण, चँगुनारायण र गरुडनारायण पनि भन्ने गरिन्छ ।

चाँगुनारायण मन्दिर

चाँगुनारायण मन्दिर

लिच्छवी कालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी थियो । चाँगुनारायण मन्दिर अवस्थित डाँडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको रूपमा यिनलाई डोलाशिखर स्वामी भनिएको हो । मल्लकालमा यसको नाम नेपाल भाषामा कथिन पुग्यो । नेपाल भाषामा ‘चाँप’लाई ‘च’ र ‘वन’लाई ‘गुँ’ भनिन्छ । त्यही चंगुनारायण अपभ्रंश भएर पछि चाँगुनारायण हुन गएको हो ।

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालमा राजा हरिदत्त बर्माले गरेका भए पनि लिच्छविकाल मै अर्का राजा मानदेवको वि.सं ५२१मा चाँगुनारायण मन्दिरमा गरुडको मूर्ति स्थापना गराइ अभिलेख राख्न लगाएका थिए । सोही समयमा राजा मानदेवले चाँगुनारायण मन्दिरको गुठीको लागि जमिन चढाएको कुरा उक्त अभिलेखमा अङ्कित छ । राजा मानदेवले चाँगुनारायण मन्दिरमा आफ्नो र आफ्नो श्रीमतीको मूर्ति समेत प्रतिस्थापन गर्न लगाएका थिए । प्यागोडा शैलीमा निर्मित उक्त मन्दिरका मुख्य देवता विष्णु हुन् ।

समय समयमा यसको जीर्णोद्धार हुँदै आएको छ । मध्यकालमा राजा शिव सिंहकी रानी गंगारानी र १८औँ शताब्दीको सुरुमा कान्तिपुरका शासक भास्कर मल्लको शासनकालमा भएको थियो । पछिल्लो समयमा केही दशक अगाडि पनि यसको जीर्णोद्धार भएको थियो ।

यो मन्दिर चतुष्कोण आकारको छ । यसको पेटी एक तल्लाको मात्र छ । मन्दिर दुई तल्लाको रहेको छ । मन्दिरको तल्लो तलाको छानो टायलको र माथिल्लो छानो पित्तलको पातावाट बनेका छन् । दुवै तलामा मझौला आकारका झ्यालहरू रहेका छन् । दुवै तल्लामा चालिस टॅुडालहरु रहेका छन् । प्रत्येक टॅुडालमा तीन तहका मूर्तिहरू कुँदिएका छन् । माथिल्लो तहमा रुख-लहरा, बिचमा मुख्य देवता(मुख्यतः विष्णु र शिवका अनेक स्वरूपहरू), र तल्लो तहमा मानिस, पशुपक्षीका मूर्तिहरू कुँदिएका छन् ।

तल्लो तलामा गरुडबाहन विष्णुको प्रस्तर मूर्ति रहेको छ । यो तल्लामा चार दिशामा चार मुख्य ढोकाहरू रहेका छन् । प्रत्येक मूल ढोकाको दायाँ-बायाँ नखुल्ने  ढोकाहरू बनाइएका छन् । पश्चिम पट्टीको ढोका प्राय खुला राखिन्छ । बेला बेलामा अन्य ढोकाहरू पनि खुला गरिन्छ । ढोकाका दायाँ-बायाँ गङ्गा, यमुना, तथा अन्य देवीदेवताका मूर्तिहरू राखिएका छन् । ढोकाहरूको माथि धातुबाट बनेका तोरणहरूमा विभिन्न कलाकृतिहरुकुँदिएका छन् । यस मन्दिरको निर्माणमा काठ र इँटाको बढी र प्रस्तर तथा धातुको कम प्रयोग भएको छ । धातुको प्रयोग मूल ढोका, तोरण, गजुरमा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 30 September 2023
Website | + posts