चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ : Icon Khabar

काठमाडौँ, असोज ९ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

गृह मन्त्रालयमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायत स्वास्थ्यकर्मीसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिसँगको छलफलमा उनले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार र कुटपिट हुन नदिइने प्रतिबद्धता व्यक्त गरे ।

“चिकित्सको चासो र चिन्ता पूरा गर्न सरकार प्रतिबद्ध छ, मुलुकमा विधिको शासन लागू हुन्छ, चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था सरकारले मिलाउँछ”, उनले भने । चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उनले आन्दोलनरत चिकित्सकलाई बिरामीको सेवामा फर्कन आग्रह गरे।

“चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शारीरिक आक्रमणको घटना भएका छन् । त्यसमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही अगाडि बढ्छ”, उनले भने , “त्यसमा कुनै प्रकारको द्वविधा नराख्न र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन मातहतको निकायलाई कडा निर्देशन जारी भइसकेको छ ।”

छलफलमा स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमणको घटना बढ्दै जाँदा अराजक स्थिति सिर्जना हुने भएकाले बेलैमा सावधानी अपनाउन आवश्यक रहेको बताए । उनले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा सरोकारवालासँग छलफल गरिएको बताए ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिल कार्कीले सरकारले चिकित्सकको अभिभावकत्व ग्रहण गर्नुपर्नेमा जोड दिँदै ढुक्क भएर काम गर्ने वातावरण बनाइदिनुपर्ने बताए ।

उनले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई चिकित्सक तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्न आग्रह गरे । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले कुनै पनि वहानामा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्ने बताए ।

Published Date: 26 September 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २४ गते मंगलबार
मंगलबार नेप्से परिसूचक २.६१ अंकले घट्यो
पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल कर ५० प्रतिशत छुट दिने सरकारको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले दिउँसो १ बजे बस्दै




ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता