संविधान दिवसको अवसरमा दश चलचित्रकर्मी सम्मानित

संविधान दिवसको अवसरमा दश चलचित्रकर्मी सम्मानित : Icon Khabar

काठमाडौं, असोज ३ । संविधान दिवसको अवसर पारेर चलचित्रमार्फत सांस्कृतिक रुपान्तरण गर्ने विभिन्न दश व्यक्तित्वलाई सांस्कृतिक रुपान्तरण पुरस्कार प्रदान गरिएको छ ।

नेपाल चलचित्र विकास बोर्डले मंगलवार आयोजना गरेको एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यो पुरस्कार हस्तान्तरण गरेकी हुन् ।

विकास बोर्डको प्रेक्षालयमा आयोजित समारोहमा ख्यालिजुजुका रुपमा ख्यातिप्राप्त हास्य अभिनेता मदनकृष्ण श्रेष्ठदेखि अग्रज सिने पत्रकार विजयरत्न तुलाधरसम्म १० जनालाई सांस्कृतिक रूपान्तरण पुरस्कार, २०८० प्रदान गरिएको हो ।

बोर्डका अध्यक्ष भुवन केसीको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण समारोहमा अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशक एवं बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहाल, अभिनेता मुकुन्द किशोर भट्टराई, निर्माता श्याम सापकोटा, अभिनेत्री तथा निर्माता निर्देशकद्वय रेखा थापा र दिपाश्री निरौला, निर्देशक मनोज पण्डित र निर्देशक मीनबहादुर भामलाई उक्त पुरस्कार प्रदान गरेको हो । उक्त पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ ।

सामाजिक र शासकीय रूपान्तरणमा योगदान पुर्याएको भन्दै चलचित्रकर्मी र संस्थालाई यसै वर्षदेखि पुरस्कार प्रदान गर्न थालिएको बोर्ड अध्यक्ष केसीको भनाइ छ ।

बोर्डका सदस्यसचिव विशाल सापकोटाले स्वागत मन्तव्य राखेको समारोहमा चलचित्रकर्मी कल्याणकोष सञ्चालन समितिलाई पनि पुरस्कृत गरिएको छ ।

सम्मान ग्रहण गर्दै वरिष्ठ हास्यव्यङ्य कलाकार मदन कृष्ण श्रेष्ठले चलचित्र विकास बोर्डले यसपटक फरक ढंगले चलचित्रकर्मीलाई सम्मान गरेको देख्दा खुशी लागेको बताए । ‘आजको यो पुरस्कृत हुने व्यक्तिहरु देखेर म दङ्ग परे । पहिले पहिले भन्दा एकदम फरक किसिमको पाए । जो दयाराम दाहालजीले पुरस्कार पाउनु भयो । दयारामजीले धेरै कलाकार जन्माउनु भयो, धेरै फिल्महरु निर्माण गर्नुभयो । चलचित्र जगतलाइ नै माथि पुर्याउनु भयो । तपाइँले पुरस्कार लिएको कहिल्यै देखेको छैन । खुशी लाग्यो ।’

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले सरकार सञ्चालन गर्न बसेकाहरुको गल्तिको भारी अहिलेको व्यवस्थामाथि थुपार्न नहुने तर्क गरिन् । मन्त्री शर्माले व्यवस्था परिवर्तनका लागि भएको जनआन्दोलनले आम नागरिकको जीवनमा भनेजति परिर्वतन गर्न नसक्नुमा शासकहरुको दोष रहेको बताईन् । शासकले गरेको गल्तिको भारी व्यवस्थामाथि थुपार्न नहुने उनको तर्क छ ।

‘सरकार सञ्चालन गर्नेहरुले गरेको त्यो त्रुटिको भारी,त्यसको दोष व्यवस्थाले बोक्नु हुँदैन्,र बोकाउनु हुँदैन,’ उनले भनिन् । लोकतन्त्रमा भएका गल्ति कमजोरीको भारी व्यवस्थालाई बोकाएर लोकतन्त्रको विकल्प खोज्नुभन्दा त्यसको सुधार गर्नतर्फ लाग्नुपर्ने उनको तर्क छ ।

‘पारदर्शी व्यवस्थाको कारण अपराधीहरु कारबाहीको दायरामा रहेको भन्दै उनले थपिन, यो पारदर्शी व्यवस्थाका भएकैले हामीले यति धेरै कुरा थाहा पाएका हौं, जे जति छन् त्यसको भारी लोकतन्त्रले बोक्दैन । यो लोकतन्त्रको विकल्प भनेको सुदृढ लोकतन्त्र हो । हामीले सुधार गरेर यहाँभित्रका खराब पक्षहरुलाई पन्छाएर हरेक क्षेत्रका राम्रा कुराहरुलाई सतहमा ल्याउने गर्नुपर्छ ।’

कार्यक्रममा सामाजिक शासकीय रुपान्तरणमा योगदान पुर्याएका कला क्षेत्रका कलाकार, निर्देशकलगायतका विभिन्न कलाकर्मीलाई सरकारले सम्मान गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 September 2023
Website | + posts